09/07/2026, 13:22:08
सोमबार, भदौ २२, २०८३

इरानी शासन पतनको नजिक पुग्यो, इजरायल मध्यपूर्वको बलियो महाशक्ति बन्यो: प्रधानमन्त्री नेतान्याहु


काठमाडौँ, भदौ २२ गते। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको दाबी गर्दै इजरायलले आफ्नो अस्तित्वमाथिको खतरा हटाउन ठुलो सफलता हासिल गरेको बताउनुभएको छ।

रोश हसानाहको अवसरमा आयोजित सरकारी बैठकमा बोल्दै उहाँले संयुक्त राज्य अमेरिकासँगको सहकार्यमा इजरायलले इरानको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतामाथि कडा प्रहार गरेको उल्लेख गर्नुभयो।

नेतान्याहुले इजरायल पहिलेभन्दा धेरै बलियो र उसका शत्रुहरू कमजोर बनेको दाबी गर्दै इरानलाई इजरायलमाथि आक्रमण गर्ने गल्ती नगर्न चेतावनी दिनुभएको छ। यदि आक्रमण गरेमा इरानले कल्पना नगरेको ठुलो क्षति व्यहोर्नुपर्ने भन्दै उहाँले इजरायललाई परीक्षण नगर्न आफ्ना विरोधीहरूलाई आग्रह गर्नुभयो। साथै, उहाँले इजरायल मध्यपूर्वको सबैभन्दा बलियो महाशक्ति बनेको दाबी गर्नुभयो।

इरानी शासनको अन्त्यलाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गर्दै उहाँले बाँकी महत्त्वपूर्ण उद्देश्यहरू पूरा गर्न इजरायल दृढ र सक्षम रहेको बताउनुभयो। इजरायली रक्षा बलले गाजा, लेबनान लगायतका क्षेत्रहरूमा आफ्ना कारबाही जारी राखेको उल्लेख गर्दै उहाँले यस कदमले मध्यपूर्वको स्वरूप र इजरायली जनताको इतिहास स्थायी रूपमा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो।