08/02/2026, 14:20:51
आइतबार, साउन १७, २०८३


वाशिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले नेपाल लगायत ४८ देशका नागरिकहरूका लागि बी१/बी२ (पर्यटक तथा व्यापारिक) भिसामा ‘भिसा बन्ड’ (Visa Bond) आवश्यक पर्ने नीति लागू गरेको छ। सन् २०२६ जनवरी २१ बाट यो नियम नेपाली नागरिकहरूका लागि पनि प्रभावकारी भएको हो।

यो नयाँ नियम अनुसार, अमेरिकी भिसाका लागि योग्य ठहरिएका नेपाली आवेदकहरूले भिसा स्वीकृत हुनुअघि ५,०००, १०,००० वा १५,००० अमेरिकी डलर (करिब ६ लाख ७० हजार देखि २० लाख रुपैयाँसम्म) धरौटी राख्नुपर्नेछ। धरौटीको रकम भिसा अन्तर्वार्ताको क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचीमा नेपालबाहेक बंगलादेश, इथियोपिया, नाइजेरिया, भियतनाम, घाना लगायतका देशहरू पनि समावेश छन्। यो निर्णय अमेरिकी गृह मन्त्रालयको ‘ओभरस्टे’ (निर्धारित समयभन्दा बढी बस्ने) दर उच्च रहेका देशहरूलाई लक्षित गरेर लिइएको हो।

कसरी तिर्ने?
आवेदकले अमेरिकी गृह मन्त्रालयको फारम आई-३५२ (Form I-352) भरेर ट्रेजरी डिपार्टमेन्टको अनलाइन पेमेन्ट प्लेटफर्म ‘Pay.gov’ मार्फत धरौटी रकम बुझाउनुपर्नेछ। कन्सुलर अधिकृतले निर्देशन दिएपछि मात्र यो प्रक्रिया अगाडि बढाउनुपर्ने बताइएको छ। तेस्रो पक्ष (साथी, परिवार वा संस्था) ले पनि यो रकम तिर्न सक्छन्, तर फारममा उल्लेख गरिएको व्यक्तिको नाम र भुक्तानी गर्ने व्यक्तिको नाम एउटै हुनुपर्छ।

शर्तहरू:
भिसा बन्ड भुक्तानी गरेपनि भिसा पाइन्छ भन्ने ग्यारेन्टी छैन।
भिसा प्राप्त गरेपछि अमेरिका प्रवेश र निस्कँदा केवल वाणिज्यिक हवाई मार्ग (Commercial Air Ports) प्रयोग गर्नुपर्छ। चार्टर उडान वा जमिन/समुद्रबाट आउन जान पाइँदैन।
यदि आवेदकले अमेरिकामा अनुमति प्राप्त समयसीमाभित्र देश छोडेमा वा भिसाको म्याद सकिएपछि पनि अमेरिका नगएमा धरौटी रकम स्वचालित रूपमा फिर्ता हुनेछ।
यदि आवेदकले समयसीमा नाघेर बसे, अमेरिकाबाट ननिस्किए वा शरणार्थी आवेदन दिएमा धरौटी जफत हुन सक्छ।

विश्वकप यात्रुका लागि छुट:
अमेरिकी प्रशासनले सन् २०२६ को फिफा विश्वकपका लागि आउने खेलाडी, प्रशिक्षक, सहयोगी टोली र तिनीहरूका नजिकका परिवारजनका लागि भने यो भिसा बन्डको आवश्यकता मिनाहा गरेको छ। साथै, अप्रिल १५ सम्म विश्वकपको टिकट किनेका र प्राथमिकतापूर्ण अपोइन्टमेन्ट प्रणाली (PASS) मा दर्ता भएका पर्यटकहरूका लागि पनि यो नियम लागू हुनेछैन।

https://travel.state.gov/content/travel/en/News/visas-news/countries-subject-to-visa-bonds.html