07/31/2026, 17:14:43
शुक्रबार, साउन १५, २०८३

चार दिनको गिरावटपछि बजारमा सुधार: नेप्से १२.९६ अंकले बढ्दा २६८५ को विन्दुमा


काठमाडौँ,साउन १५ गते । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंकले बढेको छ।

यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो, जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न पुग्यो। गत शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो। पूर्वी तराईमा देखिएको अशान्तिको प्रभाव यो साताको बजारमा बढी परेको देखिन्छ।

कारोबार र बजारको स्थिति

कारोबार रकम: अघिल्लो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
कम्पनीहरूको अवस्था: आज १८० कम्पनीको मूल्य बढ्दा ८२ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचक: अधिकांश समूहगत सूचक बढेका छन् र सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ।

उपसूचकहरूको प्रदर्शन

बढ्ने समूहहरू: बैंकिङ (०.७२%), विकास बैंक (०.४८%), फाइनान्स (०.१८%), होटल तथा पर्यटन (०.४८%), जलविद्युत् (०.६९%), लगानी (०.२३%), जीवन बीमा (०.१९%), उत्पादन तथा प्रशोधन (०.२५%), माइक्रोफाइनान्स (०.२४%) तथा अन्य समूह (०.९३%) बढेका छन्।

घट्ने समूहहरू: निर्जीवन बीमा (०.१६%) र व्यापार समूह (०.०७%) घटेका छन्।

धेरै कमाउने र गुमाउने कम्पनीहरू

शीर्ष कमाउने: एभरेस्ट कलरको मूल्य १५ प्रतिशतले बढेको छ। सूचीकृत भएपछि यस कम्पनीको मूल्य लगातार बढिरहेको छ। त्यस्तै, जोशी हाइड्रोपावर (६.७९%), अपर लोहोरेखोला (६.४४%), युनिभर्सल पावर (४.३२%) तथा विकास हाइड्रोपावर (३.६८%) बढेका छन्।

शीर्ष गुमाउने: बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत, कालिन्चोक हाइड्रोपावरको ३.५५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार भएका कम्पनीहरू

आज रकमका आधारमा धेरै कारोबार हुने कम्पनीहरूमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।