07/16/2026, 00:26:44
बुधबार, असार ३१, २०८३

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने आधा घट्यो


काठमाडौँ, असार ३१ गते । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १४.०३ अंकले बढेको छ । अघिल्ला ४ कारोबार दिन लगातार घटेको नेप्से मंगलबार ६.११ अंकले बढेको थियो । सोही प्रवृत्ति पछ्याउँदै बुधबार पनि नेप्से दोहोरो अंकले बढेको हो ।

बुधबार बजार बन्द हुँदा नेप्से २५९०.२९ अंकमा उक्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.५४ प्रतिशतको वृद्धि हो । यस दिन कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५९ कम्पनीको घट्यो । बाँकी १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बुधबार कुल ३८ हजार ८३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट कुल ४ अर्ब १७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब आधा कम हो । मंगलबार सेयर बजारमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र सामूहिक लगानी कोषबाहेक बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । लगानी उपसमूहको परिसूचक ०.४६ प्रतिशतले घटेको छ भने सामूहिक लगानी कोषको परिसूचक स्थिर रहेको छ ।