

वासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् ।
वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि कृषिप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लाका अधिकांश गाउँमा बाँदर आतङ्क बढेसँगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीय बताउँछन् । बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्याउन थालेपछि खेती गर्न नै निरुत्साहित भएको दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सदरमुकाम गोठालापानी नजिकका गाउँमा केही वर्षअघिसम्म फलफूल, तरकारी र अन्नबालीले भरिने खेतबारी अहिले बाँझिन थालेका छन् । बाली लगाउँदा पनि बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन ।”
पाटन नगरपालिका–३ की निर्मला भट्टका अनुसार बाँदर आतङ्कले गाउँको स्वरूप नै फेरिएको छ । पहिला हरियालीले भरिएका खेतबारी अहिले बाँझो देखिन थालेका छन्। उहाँले भन्नुभयो , “१८ रोपनी खेतमध्ये अधिकांश जमिन प्रयोगविहीन बनेको छ । एक सिजनमा पाँच–छ लटसम्म मकै फल्ने खेतमा चार वर्षदेखि मकै लगाउन छाडेकी छु,” उहाँले सुनाउनुभयो ।
स्थानीयका अनुसार बाँदरले अन्न उम्रिन थालेदेखि नै खेतमा पसेर बोट उखेल्ने, बाला च्यात्ने र पाकेका फलफूल नष्ट गर्ने गर्छन् । खान नसके पनि बाली तहसनहस पार्ने प्रवृत्तिका कारण किसान थप पीडित बनेका छन् । घर नजिकका बारीमा लगाइएका बाली जोगाउन परिवारका सदस्य पालैपालो कुरुवा बस्नुपर्ने अवस्था छ ।
सुर्नया गाउँपालिका–३ का नरेन्द्र धामीले खेती गरेर उत्पादनभन्दा क्षति बढी हुन थालेपछि धेरै किसानले खेत बाँझै छाडेको बताउनुभयो । मकै, कोदो, धान मात्रै होइन, लसुन, प्याज, आरु, घिरौँला, चिचिन्डालगायतका बाली पनि बाँदरले सखाप पार्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच रोपनी जमिन पनि अहिले बाँझो छ ।
दोगडाकेदार, शिवनाथ, सूर्नया, पञ्चेश्वर, मेलौली, पाटन, दशरथचन्द लगायतका स्थानीय तहमा बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको छ । खेतीपाती गर्न नसकेर करिब एक हजार दुई सय घरधुरीले गाउँ नै छोडिसकेको स्थानीयले बताएका छन् ।
बाँदरले नोक्सान नगर्ने बालीको खोजीमा किसान लागेका मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । मकै, कोदो, तरकारीलगायतका बाली जोगाउन नसकिएपछि पछिल्लो समय धेरै किसान हल्दो खेतीतर्फ आकर्षित भएका छन्, उहाँले भन्नुभयो ।
बाँदरले बालीनाली मात्र होइन, मानिसमाथि पनि आक्रमण गर्न थालेका छन् । खेतबारीबाट लखेट्न जाँदा कतिपयलाई टोक्ने गरेको स्थानीय बताउँछन् । केही स्थानमा घरभित्र राखिएको मकैसमेत बाँदरले झिकेर लैजाने गरेको दशरथचन्द नगरपालिका निवासी बहादुर भट्टले बताउनुभयो ।
केही वर्षअघिसम्म फाट्टफुट्ट देखिने बाँदर पछिल्लो समय ठूलो समूहमा देखिन थालेका स्थानीयले बताएका छन् । वन क्षेत्र विस्तार, गाउँबाट बसाइँसराइ र खाद्यान्नको खोजीमा बस्ती नजिक झर्ने क्रम बढेसँगै समस्या जटिल बन्दै गएको सरोकारवालाको भनाइ छ ।
बाँदर आतङ्कका कारण कृषि उत्पादन घट्दै जानुका साथै गाउँको अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पर्न थालेको छ । स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरे पनि हालसम्म ठोस कार्यक्रम लागू हुन सकेको छैन ।
विभिन्न वडाबाट समस्यासम्बन्धी गुनासा निरन्तर आइरहेकाले समाधानका उपाय खोज्ने विषयमा छलफल भइरहेको जनप्रतिनिधिहरू बताउँछन् । हरियालीले ढाकिने बैतडीका फाँटहरू बाँदर आतङ्कका कारण क्रमशः उजाडिँदै जानु जिल्लाको कृषि क्षेत्रका लागि चिन्ताको विषय बनेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































