05/26/2026, 21:22:35
मङ्गलबार, जेठ १२, २०८३

सिङ्गापुरको आर्थिक वृद्धिमा निरन्तर सुधारको सङ्केत


सिङ्गापुर, जेठ १२ गते । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबुत गतिविधि र सुरक्षित लगानीका रूपमा पूँजी प्रवाह बढेकाले सिङ्गापुरको सन् २०२६ को आर्थिक वृद्धिदर पूर्वानुमान बढाइएको छ ।

मलेशियास्थित मेबैंक इन्भेस्टमेन्ट बैंकले सन् २०२६ का लागि सिङ्गापुरको कुल गार्हस्थ उत्पादन वृद्धिदर ४.२ प्रतिशत हुने अनुमान गरेको छ, जुन पहिले ३.४ प्रतिशत थियो । यो सरकारी अनुमानित २ देखि ४ प्रतिशतको दायराभन्दा माथि छ । उक्त अनुसन्धान संस्थाले सन् २०२७ को वृद्धिदर पूर्वानुमान पनि ३.१ प्रतिशतमा पुर्याएको छ ।

संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पूँजी लगानी, निर्माण क्षेत्रमा उछाल र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले अर्थतन्त्रलाई मजबुत बनाएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले ऊर्जा–आधारित केही उद्योगलाई असर गरे पनि त्यसको प्रभाव अन्य क्षेत्रमा कम देखिएको छ । विशेष गरी समुद्री ढुवानी र हवाई क्षेत्रले माग स्थानान्तरणबाट लाभ पाएको बताइएको छ ।

एआईसम्बन्धी पूँजीगत खर्च सन् २०२६ को दोस्रो आधासम्म जारी रहने अपेक्षा गरिएको छ । प्रमुख अमेरिकी प्रविधि कम्पनीले खर्च बढाइरहेकाले सेमिकन्डक्टर र सर्भर सम्बन्धी उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । निर्माण गतिविधि पनि बलियो रहने अपेक्षा गरिएको छ, जसमा ठूला परियोजना र सरकारी सहायताले सहयोग गर्ने बताइएको छ ।

अर्कोतर्फ, युनाइटेड ओभरसीज बैंक अनुसन्धान विभागले पनि सन् २०२६ को वृद्धि पूर्वानुमान २.५ प्रतिशतबाट बढाएर ३.२ प्रतिशत पुर्याएको छ । यसले पहिलो त्रैमासिकको अपेक्षाभन्दा राम्रो प्रदर्शन र एआईसम्बन्धी निरन्तर गति मुख्य कारण रहेको जनाएको छ । रिपोर्ट अनुसार इलेक्ट्रोनिक्स क्षेत्रको सुधारले क्षेत्रीय व्यापारलाई समेत बल दिएको छ, विशेष गरी सेमिकन्डक्टर निर्यातमा ठूलो वृद्धि देखिएको छ ।

रिपोर्टले एआई-आधारित प्रविधि चक्रले इलेक्ट्रोनिक्स निर्यातलाई निरन्तर समर्थन गर्ने अपेक्षा गरेको छ, जसले उत्पादन र व्यापार क्षेत्रमा वृद्धि ल्याउने छ । तर केही विश्लेषकले भू-राजनीतिक तनाव र आपूर्ति शृङ्खलामा सम्भावित अवरोधका कारण जोखिम अझै कायम रहेको चेतावनी दिएका छन् ।

सिङ्गापुरको व्यापार तथा उद्योग मन्त्रालयले भने सन् २०२६ का लागि २ देखि ४ प्रतिशतको वृद्धिदर अनुमान यथावत राखेको छ, यद्यपि बाह्य जोखिम बढेको स्वीकार गरेको छ । सन् २०२६ को पहिलो त्रैमासिकमा सिङ्गापुरको अर्थतन्त्र ६ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकभन्दा उच्च हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..