

तनहुँ, जेठ ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोक सबस्टेसनको ट्रान्सफर्मरमा आएको खराबीले गर्दा अवरुद्ध बनेको तीन जिल्लाको विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था गरेर सुचारु गरिएको छ ।
सबस्टेसनमा रहेको १३२-१३२-३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मर तत्काल मर्मत गर्न समय लाग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सुचारु गरेको हो । यसअघि ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि तनहुँ, गोरखा र मुग्लिन हुँदै चितवनका केही क्षेत्र बुधबार साँझ ५ः३२ बजेदेखि विद्युत् बिहीन बनेका थिए ।
पोखरा ग्रिड महाशाखा र तनहुँ वितरण केन्द्रको प्राविधिक टोलीले रातभर खटिएर राति १२ः४५ बजे लाइन चलाए पनि बिहीबार बिहान ६ः४७ बजे पुनः सोही समस्या दोहोरिएपछि ट्रान्सफर्मर पूर्ण रूपमा बन्द गरिएको थियो ।
तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर पवन पौडेलले बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्न वा बदली गर्न समय लाग्ने देखिएकाले उपभोक्ताको सहजताका लागि वैकल्पिक माध्यमबाट लाइन सुचारु गरिएको जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रान्सफर्मर मर्मत वा बदलीको काम समय लाग्ने भएकोले नागरिकलाई लामो समय अन्धकारमा राख्न नसकिने भएकाले हामीले वैकल्पिक व्यवस्था मिलाएर सेवा सञ्चालन गरिएको हो ।
वैकल्पिक व्यवस्थाको लागि दमौली सव स्टेशनबाट आएको विद्युतको तार जडान गरि सञ्चालन गरिएको हो ।
अहिले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति पूर्ववत् अवस्थामा फर्किसकेको छ भने ग्रिडको टोली मार्किचोक सबस्टेसनमै रहेर ट्रान्सफर्मरको स्थायी समाधानका लागि कार्य गरिरहेको प्राधिकरणले जनाएको छ । अचानक आएको प्राविधिक गडबडीका बेला उपभोक्ताहरूबाट प्राप्त धैर्यताको लागि प्राधिकरणले धन्यवाद समेत ज्ञापन गरेको छ ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































