05/20/2026, 15:54:13
बुधबार, जेठ ०६, २०८३

क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित


सिमी भ्याली (क्यालिफोर्निया), जेठ ६ गते । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।

लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर-पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।

भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्णरूपमा नष्ट भएको छ । प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो ।

तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा राहत मिलेको अग्नि विभागका प्रवक्ता एन्ड्र्यु डाउडले जानकारी दिनुभयो । उहाँका अनुसार अनुकूल मौसमका कारण अग्नि नियन्त्रक टोलीले केही प्रगति गरे पनि हावा फेरि तीव्र हुन सक्ने जोखिम कायमै छ । हालसम्म आगलागी करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।

सिमी भ्याली क्षेत्रमा एक लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेको बस्ती वरिपरि अझै पनि निकासी आदेश र चेतावनी कायम छन् । बाक्लो धुवाँका कारण क्षेत्र धुम्मिएको छ भने अग्नि नियन्त्रकले हवाईमार्फत पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । यसैबिच, दक्षिणी क्यालिफोर्नियाको तटीय क्षेत्रमा रहेको सान्ता रोजा टापुमा पनि अर्को ठूलो डढेलो फैलिएको छ ।

करिब २३ वर्गमाइल (५९ वर्गकिलोमिटर) क्षेत्रफलमा फैलिएको उक्त आगलागीले एउटा क्याबिन र एउटा उपकरण भण्डारण भवन ध्वस्त पारेको छ । आगलागीका कारण राष्ट्रिय निकुञ्ज सेवाका ११ जना कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । मङ्गलबार बिहानसम्म त्यहाँ आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । क्याम्पिङ र पदयात्राका लागि लोकप्रिय सान्ता रोजा टापु वन्यजन्तुको महत्वपूर्ण वासस्थान पनि हो, जहाँ ब्वाँसो, धब्बेदार स्कङ्क र हात्ती सिल जस्ता प्रजाति पाइन्छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..