06/10/2026, 01:36:24
मङ्गलबार, जेठ २६, २०८३

एसईईमा रामेछापका ८१ प्रतिशत विद्यार्थी ग्रेडेड, प्राविधिकतर्फ शतप्रतिशत उत्तीर्ण


रामेछाप, वैशाख २९ गते । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा रामेछापले उत्साहजनक सफलता हासिल गरेको छ ।

जिल्लामा सामुदायिक तथा संस्थागत विद्यालयका अधिकांश विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् भने प्राविधिक शिक्षातर्फ शतप्रतिशत नतिजा आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाका सामुदायिकतर्फ ८५ तथा संस्थागततर्फ ३ विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका थिए । नियमिततर्फ साधारण धारमा २ हजार १ सय ३६ र प्राविधिक धारमा १ सय ४४ गरी कुल २ हजार २ सय ८० विद्यार्थी परीक्षामा सहभागी भएको उनले जानकारी दिए ।

तीमध्ये १ हजार ८ सय ५४ विद्यार्थी ग्रेडेड भएका छन् भने ४ सय २६ विद्यार्थी नन–ग्रेडेड भएका छन् । समग्रमा जिल्लाको ग्रेडेड प्रतिशत ८१ दशमलव ३२ रहेको छ । साधारण धारतर्फ १ हजार ७ सय १० विद्यार्थी ग्रेडेड भएका छन् । यस धारमा ग्रेडेड प्रतिशत ८० दशमलव ०६ रहेको छ । यता प्राविधिक धारतर्फ सहभागी सबै १ सय ४४ विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । जीपीए अनुसार सबैभन्दा धेरै विद्यार्थी २ दशमलव ८१ देखि ३ दशमलव २० समूहमा रहेका छन् । यस समूहमा ६ सय २४ विद्यार्थी छन् । २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या ४ सय ५७ रहेको छ ।

त्यस्तै ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याउने ४ सय ११ विद्यार्थी रहेका छन् भने ३ दशमलव ६१ देखि ४ जीपीए हासिल गर्ने विद्यार्थी सङ्ख्या २ सय ८६ पुगेको छ । यस वर्ष जिल्लाबाट ४ जीपीए ल्याउने विद्यार्थी सङ्ख्या ३६ रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । तीमध्ये साधारण धारतर्फ २७ तथा प्राविधिक धारतर्फ ९ विद्यार्थी रहेका छन् ।

– नवराज श्रेष्ठ