10/13/2026, 17:47:23
मङ्गलबार, असोज २७, २०८३

नेपालको हुलाक सेवा अब आधुनिक र प्रविधिमैत्री बनाइने : सञ्चारमन्त्री डा. तिमिल्सिना

हुलाकका सवारीसाधन समस्या समाधान गर्न १०० थान मोटरसाइकल खरिद प्रक्रिया सुरु, अतिरिक्त हुलाक कर्मचारीको सेवासुविधामा मन्त्रालय सकारात्मक।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, असोज २७ गते । नेपालको ऐतिहासिक हुलाक सेवालाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने सरकारको तयारी अघि बढेको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई समयअनुकूल बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गरिने बताउनुभएको छ।

हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तक्रिया कार्यक्रममा उहाँले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पार्नुभयो ।

दूरदराजका नागरिकसम्म छिटो र सहज सेवा पुर्‍याउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोतको व्यवस्थापन र प्रविधिको प्रयोगमा जोड दिइने भएको छ। हुलाक सेवामा देखिएका समस्या पहिचान गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य छ।

हुलाक सेवामा रहेको सवारीसाधनको समस्या समाधान गर्न १०० वटा मोटरसाइकल खरिद प्रक्रिया सुरु गरिएको छ। साथै, अतिरिक्त हुलाकका कर्मचारीको सेवा-सुविधा समयानुकूल बनाउने विषयमा पनि मन्त्रालय सकारात्मक रहेको मन्त्री तिमिल्सिनाले बताउनुभएको छ।

हुलाक सेवा केवल चिठीपत्र आदानप्रदानको माध्यम मात्र होइन, नागरिकलाई जोड्ने महत्वपूर्ण सार्वजनिक सेवा हो। उचित सुधार, आधुनिक प्रविधि र कर्मचारीको प्रतिबद्धतासँगै नेपालको हुलाक सेवालाई अझ छिटो, भरपर्दो र जनमैत्री बनाउन सकिने अपेक्षा गरिएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र विभागका महानिर्देशक मनमाया भट्टराईले पनि सेवा प्रवाहलाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो। सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरूलाई सम्मान गरिएको थियो।