

काठमाडौँ, वैशाख ८ गते । आइफोन निर्माता एप्पलले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै एप्पलले अहिलेका सीईओ टिम कुकलाई कम्पनीको कार्यकारी अध्यक्ष बनाउने र हार्डवेयर इन्जिनियरिङ विभागका वरिष्ठ उपाध्यक्ष जन टेर्नसलाई सीईओ बनाउने उल्लेख गरेको छ । विज्ञप्तिअनुसार यो फेरबदल सन् २०२६ सेप्टेम्बर १ देखि लागू हुनेछ ।
कुकले एप्पलको नेतृत्व गर्न पाउनु सबैभन्दा ठूलो अवसर भएको प्रतिकृया दिएका छन् । टेर्नसको तारिफ गर्दै कुकले उनलाई ‘इन्जिनियरको सोच, नवप्रवर्तकको आत्मा र इमानदारीताको भावना भएका व्यक्ती’ को रूपमा वर्णन गर्दै आगामी दिनलाई उपयुक्त नेतृत्व रहेको बताएका छन् ।
टेर्नसले नयाँ जिम्मेवारी पाएको आभार व्यक्त्त गर्दै एप्पलको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो अधिकांश करियर एप्पलमै बिताएको उल्लेख गर्दै स्टिभ जब्स र टिम कुकसँग काम गर्ने अवसरलाई महत्वपूर्ण अनुभवका रूपमा स्मरण गरेका छन् ।
कुक सन् १९९८ देखि एप्पलमा आबद्ध छन् । सन् २०११ मा सीईओ बनेका उनले एप्पल वाच, एयरपड, एप्पल भिजन प्रो जस्ता प्रोडक्ट र आइक्लाउड, एप्पल पे, एप्पल टीभी, एप्पल म्युजिक जस्ता सेवा बजारमा ल्याएका थिए । सीईओका रूपमा उनको नेतृत्वमा कम्पनीले उल्लेखनीय आर्थिक तथा संस्थागत विस्तार हासिल गरेको एप्पलको विज्ञप्तीमा भनिएको छ ।
‘कुकले नेतृत्व सम्हालेपछि कम्पनीको बजार मूल्य करिब ३५० अर्ब डलरबाट बढेर ४ ट्रिलियन डलर पुगेको छ, यो भनेको १ हजार प्रतिशतभन्दा बढीको वृद्धि हो,’ विज्ञप्तीमा भनिएको छ, ‘कम्पनीको वार्षिक आम्दानी पनि झण्डै चार गुणाले बढेको छ । सन् २०११ मा १०८ अर्ब डलर रहेको आम्दानी सन् २०२५ सम्म आइपुग्दा ४१६ अर्ब डलरभन्दा बढी पुगेको छ ।’ उनी सीईओ भएयता एप्पलको शेयर मूल्य १७ सय प्रतिशले वृद्धि भएको एनबीसी न्युजकी पत्रकार क्रिस्टी रोमनले बताएकी छन् ।
कुकलै कार्यकालमा भारतजस्ता उदयीमान बजारमा एप्पलको उपस्थिति उल्लेख्य विस्तार भएको एप्पलले जनाएको छ । एप्पल अहिले २ सयभन्दा बढी देश र क्षेत्रमा फैलिएको र खुद्रा व्यापारतर्फ कम्पनीले ५ सयभन्दा बढी स्टोर सञ्चालन गरिरहेको जनाएको छ । कुकको कार्यकालमा कम्पनीले १ लाखभन्दा बढी नयाँ कर्मचारी थप्नुका साथै सक्रिय प्रयोगमा रहेका एप्पलका डिभाइसको संख्या २.५ अर्बवटाभन्दा माथि पुगेको विज्ञप्तीमा उल्लेख छ ।
‘कोभिड-१९ महामारी र चीनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ नीति एवं व्यापार युद्धजस्ता कम्पनीलाई प्रभाव पार्ने विश्व घटनामाझ कुकले कम्पनीलाई अघि बढाएका थिए,’ सीएनएनमा पत्रकार लिजा इयाडिसिक्कोले लेखेकी छन्, ‘तर, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता पछिल्ला क्षेत्रमा भने एप्पलका पछिल्ला विस्तार सफल हुन सकेनन् । कम्पनीको महँगो एप्पल भिजन प्रो हेडसेट अझै पनि केही प्रयोकर्तामा मात्रै सिमित छ ।’
सीएनएनका अनुसार एप्पलले च्याटजीपीटी र जेमिनाइजस्ता एआई टुलसँग प्रतिस्पर्धा गर्ने गरी यस वर्ष आफ्नो भ्वाइस असिस्टेन्ट ‘सिरि’ मा विशेष अपडेट ल्याएको अपेक्षा गरिएको थियो । तर, यसमा ढिलाइ देखिएको छ । एआईमा एप्पल सुस्त भएको र यो उसका लागि चुनौती रहेको भन्ने विषयमा चर्चा हुने गरेको छ । विश्लेषकहरूले एआई रणनीतिबारे टिम कुकसँग निरन्तर प्रश्न उठाउँदै आएका छन् ।
यस्तो माहोलमा टेर्नसले कुकपछि सीईओको भूमिका निर्वाह गर्न लागेका छन् । उनले सन् २००१ मा प्रोडक्ट डिजाइन टिमबाट कम्पनीमा काम थालेका थिए । आईप्याड र आईपड जस्ता प्रोडक्ट विकासमा उनको मूख्य भूमिका रहेको कम्पनीले जनाएको छ । गत महिना मात्रै उनले एप्पलको पहिलो सुपथ मूल्यको म्याकबुक, ‘म्याकबुक नियो’ सार्वजनिक गरेका थिए ।
अब उनले सिरी र आईफोनजस्ता एप्पलका लोकप्रिय प्रोडक्टमा ठूला सुधार ल्याउने अपेक्षा गरिएको छ । आउँदो जुनमा हुने वर्ल्डवाइड डेभलपर कन्फरेन्समा सिरिको अपडेट सार्वजनि गरिने अनुमान छ ।
ब्लुमबर्गका अनुसार सेप्टेम्बरमा एप्पलले आफ्नो पहिलो फोल्डिङ आइफोन सार्वजनिक गर्ने योजना बनाएको छ । केही दिनअघि मात्रै पत्रकार मार्क गुर्म्यानले फोल्डेबल आईफोनको डिजाइन बजारमा रहेका अन्य प्रतिस्पर्धी डिभाइससँग मिल्दोजुल्दो हुने भए पनि केही विशेषताले फरक हुने उल्लेख गरेका थिए । सन् २०२७ मा आईफोनको दुई दशक पूरा हुने अवसर पारेर थप ठूला परिवर्तनको तयारी भइरहेको गुर्म्यानले आफ्नो समाचारमा लेखेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































