10/29/2026, 17:51:28
बिहिबार, कार्तिक १३, २०८३

एनपिएल : राहुल र मोइनको चम्किलो प्रदर्शनमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाण्डु गोर्खाज ८ विकेटले पराजित

पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई सजिलै पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ भने १७ वर्षीय राहुल यादव र मोइन खान उत्कृष्ट प्रदर्शन गर्दै नायक बनेका छन्।


काठमाडौँ, कात्तिक १२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो च्याम्पियन जनकपुर बोल्ट्सले एनपिएल ३ मा आफ्नो पहिलो जित हात पारेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले सहजै पराजित गरेको हो। पहिलो खेलमा कर्णाली याक्सविरुद्ध सामान्य स्कोर पछ्याउन नसकेर हार बेहोरेको जनकपुरका लागि यो पुनरागमन जित निकै महत्त्वपूर्ण बनेको छ। यता, पहिलो खेल खेलेको काठमाण्डु गोर्खाज भने यसपटक ब्याटिङमा चल्न नसक्दा पराजय ब्यहोर्न बाध्य भयो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डु गोर्खाजले १७ वर्षीय युवा तेज बलर राहुल यादवको घातक बलिङसामू सम्हालिन नसक्दा १९.३ ओभरमा ११५ रनमै सीमित हुन पुग्यो। राहुलले आफ्नो कोेटाको ४ ओभरमा ३१ रन खर्चेर स्मित पटेल, साम हेजलेट, कप्तान करण केसी र आदिल आलमजस्ता मुख्य ब्याट्सम्यानहरूको विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।

काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३, रसिद खानले १७ र सुमित महर्जनले १० रन बनाउनुबाहेक अन्य ब्याटरहरूले दोहोरो अङ्क छुन सकेनन्। जनकपुरका लागि राहुलले ४, सैफ हसनले २ तथा मोइन खान, हरमीत सिंह र ललित राजवंशीले समान १–१ विकेट हात पारे।

प्रमुख विदेशी खेलाडी जिमी निसम घाइते भएर मैदान बाहिर रहे पनि अर्का विदेशी खेलाडी मोइन खान र बङ्गलादेशका अलराउन्डर सैफ हसनको सानदार ब्याटिङ मद्दतमा जनकपुरले लक्ष्य सहजै भेटायो। मोइनले एनपिएलमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५८ रन बनाए। त्यस्तै, सैफ हसनले पनि ३९ बलमा ४० रन बनाएर अविजित रहे। मोइन र सैफबीच भएको अविजित ७९ रनको साझेदारीले काठमाण्डुलाई खेलमा फर्कने कुनै मौका दिएन।

जनकपुरले १७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा ११६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो विजयी यात्राको सुरुआत गरेको छ भने पहिलो खेलमै देखिएका कमजोरीहरू सुधार गर्नुपर्ने दबाब काठमाण्डु गोर्खाजलाई बढेको छ।

विवरण तथ्य / जानकारी
विजेता टिम जनकपुर बोल्ट्स (८ विकेटले विजयी)
पराजित टिम काठमाण्डु गोर्खाज (११५/१०, १९.३ ओभर)
जनकपुरको स्कोर १७.२ ओभरमा २ विकेटको क्षतिमा ११६ रन
उत्कृष्ट बलिङ (जनकपुर) राहुल यादव (४ ओभर, ३१ रन, ४ विकेट)
उत्कृष्ट ब्याटिङ (जनकपुर) मोइन खान (५८ रन अविजित), सैफ हसन (४० रन अविजित)
काठमाण्डुका सर्वाधिक रनकर्ता भीम सार्की (३३ रन)