09/28/2026, 12:01:10
सोमबार, असोज १२, २०८३

विनोद दास मलेसिया क्रिकेट संघको चिफ अपरेटिङ अफिसरमा छनोट


काठमाडौँ, १० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा पूर्वप्रशिक्षक विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) पदमा छनोट भएका छन्।

मलेसिया क्रिकेट संघले करिब एक महिनाअघि खुलाएको सीओओ पदको आवेदन प्रक्रियाबाट दास छनोट भएका हुन्। दासले आफू छनोट भएको जानकारी आएको र औपचारिक दुईपक्षीय हस्ताक्षर भने बाँकी रहेको बताएका छन्।

उनका अनुसार औपचारिक प्रक्रियाका लागि आगामी साता मलेसिया जाने तयारी छ।

दास यसअघि नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट अपरेसन म्यानेजरका रूपमा कार्यरत थिए। मलेसिया क्रिकेट संघको सीओओ पदमा छनोट भएपछि आफू उक्त जिम्मेवारीबाट अलग भएको जानकारी क्यानलाई गराइसकेको उनले बताएका छन्।

खेलाडी हुँदै प्रशिक्षकसम्मको अनुभव

विनोद दासले नेपाली क्रिकेटमा लामो समयदेखि विभिन्न भूमिकामा काम गर्दै आएका छन्। सन् २००० को दशकमा उनले यू–१९ देखि राष्ट्रिय टोलीसम्मको कप्तानी गरेका थिए।

खेलाडी जीवनपछि प्रशिक्षकका रूपमा पनि उनले नेपाली क्रिकेटमा योगदान दिएका छन्। उनले यू–१९ पुरुष टोली तथा महिला राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

नेपाली क्रिकेटलाई करिब दुई दशकदेखि नजिकबाट नियाल्दै आएका दाससँग खेलाडी, कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासनको अनुभव छ। अब उनले मलेसिया क्रिकेट संघमा चिफ अपरेटिङ अफिसरका रूपमा नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन्।