08/26/2026, 08:46:58
बुधबार, भदौ १०, २०८३

चलचित्र ‘गौँथली’ को बक्स अफिसमा धमाकेदार प्रदर्शन : २५ करोडभन्दा बढी कमाउँदै बन्यो नेपालको दोस्रो सर्वाधिक सफल चलचित्र


काठमाडौँ, १० भदौ — गत साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले घरेलु बक्स अफिसमा बम्पर व्यापार गर्दै नयाँ कीर्तिमानतर्फ पाइला बढाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार चलचित्रले भदौ ७ गतेसम्म कुल २५ करोड ५ लाख ६५ हजार ७ सय ७२ रुपैयाँ ग्रस कमाउन सफल भएको हो।

डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको यस चलचित्रले हालसम्म ९ लाख ९ हजार ४ सय २६ वटा टिकट बिक्री गरिसकेको छ। यो कमाइसँगै ‘गौँथली’ नेपालमा सर्वाधिक कमाउने दोस्रो सिनेमा बन्न सफल भएको छ भने पहिलो स्थानमा ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ।

शिक्षाको महत्त्व दर्शाउनुका साथै श्रीमान्-श्रीमतीको मर्मस्पर्शी सम्बन्धको कथा प्रस्तुत गरिएको यस चलचित्रलाई दर्शकहरूले निकै रुचाएका छन्। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।