08/20/2026, 10:01:23
बिहिबार, भदौ ०४, २०८३

मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ, भदौ ४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसका कारण देशभर साधारणतया बादल लागेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोको मौसम

बादल र वर्षा: देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

प्रदेशगत अवस्था: पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा र हुरीबतास: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्नेछ।

आज रातिको मौसम

बादल र वर्षा: हिमाली र पहाडी भूभागका साथै कोशी र सुदूरपश्चिमको तराईमा साधारणतया बादल र बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

तराई तथा पहाडी भूभाग: पहाडी भूभागका केही स्थानका साथै कोशी, लुम्बिनी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै/केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।