08/16/2026, 21:52:23
आइतबार, साउन ३१, २०८३

देशका विभिन्न भागमा राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौँ, साउन ३१ गते। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। हाल बागमती, गण्डकी र लुम्बिनीका केही तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरैजसो पहाडी भूभागका साथै सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान छ।

सोमबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी मङ्गलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसममा आउने परिवर्तनका कारण नदीमा जलसतह बढ्ने र पहिरोको जोखिम रहने हुँदा हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई पूर्वसावधानी अपनाउन महाशाखाले सचेत गराएको छ।