

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुँदै आएका दुई लाख २३ हजारभन्दा बढी वेबसाइट र एपहरू बन्द गरेको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा समेटिएको ‘अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथाम’ सम्बन्धी निर्णय अनुसार प्राधिकरणले यो कारबाही अघि बढाएको हो। कार्यसूचीको ४२ औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससँग सम्बन्धित वेबसाइट २४ घण्टाभित्र बन्द गराउने उल्लेख थियो।
फिफा विश्वकप सुरु भएयता बेटिङ एपको प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि प्राधिकरणले विशेष तदारुकताका साथ कारबाही तीव्र पारेको थियो।
प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार, इन्टरनेट सेवा प्रदायक (ISP) हरूसँगको सहकार्यमा त्यस्ता वेबसाइटका URL हरू ब्लक गर्ने गरिएको छ। एउटा वेबसाइट बन्द गर्दा नयाँ नाममा पुनः खुल्ने चुनौती रहेकाले ‘थ्रेड इन्टेलिजेन्स टुल‘ (Thread Intelligence Tool) को प्रयोग गरी निरन्तर हन्टिङ तथा ब्लकिङ प्रक्रिया जारी राखिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई पनि कुनै अवैधानिक वा सट्टेबाजी वेबसाइटबारे जानकारी भए NTA-OPM GitHub Repository मार्फत जानकारी गराउन वा रिपोर्ट गर्न अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































