07/09/2026, 21:20:31
बिहिबार, असार २५, २०८३

चलचित्र ‘बेहुली’ भदौको हरितालिका तीजमा रिलिज हुने


काठमाडौँ, असार २५ गते । सशान कँडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘बेहुली’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २६ गते हरितालिका तीजलाई नयाँ प्रदर्शन मितिका रुपमा घोषणा गरिएको हो । यसअघि यो चलचित्र भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो ।

May be an image of one or more people, people smiling and text

चलचित्रको प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझी प्रस्तुत छन् । बेहुलीको पहिरनमा रहेकी दिव्या पारसको अंगालोमा बाँधिएकी छन् । पारसको हातमा भने हतकडी देखिन्छ । यसले उनीहरूको प्रेम सम्बन्धमा आउने गम्भीर संकटलाई संकेत गरेको छ ।

होस्टेल ३’ का निर्देशक कँडेलको निर्देशित चलचित्रमा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, धनश्याम जोशी, सविन कट्टेल, दीपक गौली, विमल अनुविनय यादव, अविरल श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । सुशान्तले यही चलचित्रबाट ५ वर्षपछि कमब्याक गरेका हुन् ।

May be an image of text

संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता प्रताप शम्सेर राणा हुन् । शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माताको रूपमा छन् । सह-निर्माता भने दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन् । चलचित्रमा माधव शर्माको लेखन, अर्जुन पोखरेलको संगीत, नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।