10/13/2026, 21:44:04
मङ्गलबार, असोज २७, २०८३

दसैँ नजिकिँदै जाँदा उपत्यका छाड्नेहरूको सङ्ख्या बढ्यो: घटस्थापनादेखि हालसम्म एक लाख नौ हजारभन्दा बढी बाहिरिए

काठमाडौँ उपत्यकाका नाकाहरूमा यातायातको चाप बढ्यो; यात्रुको सुरक्षाका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा खटियो।


काठमाडौँ, असोज २७ गते । नेपालीहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा १७ हजार १३९ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा मानिसहरू उपत्यकाबाट बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू जन्मथलो फर्किन थालेपछि नागढुङ्गा, फर्पिङ, साँखु लगायत प्रमुख नाकामा यात्रुको चहलपहल बढेको छ।

यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।

दसैँ मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेका बेला मुख्य सडकमा यातायात सञ्चालन भइरहेकाले यात्रुलाई आफ्नो गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ अधिकारीहरूले चाडपर्वका बेला सार्वजनिक यातायातमा हुने भीडभाडलाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सवारीसाधनको व्यवस्थित आवागमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको जानकारी दिएका छन्।

यात्रुहरूलाई लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र सुरक्षा सावधानीमा विशेष ध्यान दिन अनुरोध गरिएको छ।