काठमाडौँ, असोज २७ गते । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट ३०० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीलाई छल्दै भाग्न खोजेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख सुवासचन्द्र बोहोराका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मङ्गलबार ब्युरोबाट खटिएको प्रहरी टोलीले तारकेश्वर–८ मा शङ्कास्पद अवस्थामा फेला परेका व्यक्तिलाई रोक्न खोजेको थियो। प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि हवाई फायर गरेर उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२१ का ४९ वर्षीय बासुदेव मियाँ रहेका छन्। उनको साथबाट ३०० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको छ। अनुसन्धानबाट मियाँले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले ६ पटकसम्म उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेको खुलेको छ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार ३०० ग्रामभन्दा बढी खैरो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्म र पाँच लाखदेखि २५ लाख रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








