लेखनाथ, जेठ २३ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ९ मा पर्ने पोखरा बसपार्क क्षेत्रका सुकुमवासीहरूले आफैँ आफ्ना घरटहरा हटाउन थालेका छन् । पोखरा महानगरपालिकाले पोखरा बसपार्कका सुकुमवासीलाई आफैँ घरटहरा हटाउन दिएको म्याद आइतबार सकिँदै छ ।
शनिबार दिउँसोसम्म ५० भन्दा बढी सुकुमवासीले घरटहरा आफैँ भत्काइसकेका छन् । पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिले करिब २६ रोपनी मात्र खाली छ ।
बसपार्क हटाउनुअघि पोखरा महानगरले तीन वटा समिति बनाएको थियो । जग्गा खोजी समितिले पोखरा बसपार्कका सुकुमवासी व्यवस्थापन गर्न महानगरका छ ठाउँका जग्गा उपयोग गर्न सकिने सिफारिस गरेको छ। समितिले बिहीबार बुझाएको प्रतिवेदनमा पोखरा-११, रामघाटस्थित पुन समाजले चर्चेको ४६ रोपनी पर्ती जग्गा, वडा नम्बर १४, बाच्छेबुडुवाको खेलमैदान र भेडीफार्म क्षेत्रको जग्गा, पोखरा-१५, मजुवा, वडा नम्बर-२१, दोबिल्ला र वडा नम्बर-२५, हेमजाको जग्गामा व्यवस्थापन गर्न सकिने सुझाएको थियो ।


महानगरले बसपार्क र फिर्के काेरिडोर क्षेत्रका करिब छ सय परिवारलाई व्यवस्थापन गर्ने लक्ष्यका साथ आवश्यक जग्गा खोजेको हो । भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई व्यवस्थापन गर्ने तयारी छ भने अव्यवस्थित बसोवासीलाई हटाइने भएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले नागरिकको व्यक्तिगत अधिकारको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षण दुवै दायित्व सरकारको भएको बताउनुभयो । उहाँले सुकुमवासीहरूलाई उचित व्यवस्थापन गरिने प्रस्ट पार्नुभयो । “वैकल्पिक स्थानमा आवश्यक पूर्वाधार, सुविधा र व्यवस्थापनसहित नयाँ बस्ती पुनःस्थापनाको अन्तिम तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले सम्बन्धित परिवारहरूलाई छोटो अवधिका लागि आफ्नो व्यवस्थापन आफैँ मिलाइदिन अनुरोध छ ।”


बसपार्कको जग्गा बेचबिखनबारे न्यायिक छानबिनपछि निर्णय हुने उहाँ बताउनुहुन्छ । कानुनी बाटो र अन्य तवरले बसपार्क बनाउने अभियानमा अवरोध नगर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख आचार्यले भन्नुभयो, “सरकारले बिना-सूचना हामीलाई हटायो वा जबरजस्ती भयो भनेर भ्रम नछर्नु होला । हामीले पर्याप्त समय र सूचना दिइसकेका छौँ । बहाना नबनाऔँ, बसपार्क बनाऔँ !”
सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग टुङ्गिने पोखराको पृथ्वीचोकमा २०३२ सालदेखि सुरु भएको बसपार्क बनाउने अभियान पाँच दशकमा पनि अधुरै छ । त्यसबेला बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा अहिले पाँच सय ७५ सुकुमवासीका टहरा छन् भने केही जग्गा सट्टा भर्नामा दिइएको छ ।
– फडिन्द्र अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































