06/02/2026, 10:26:35
मङ्गलबार, जेठ १९, २०८३

मुग्लिङ–मलेखु सडकखण्ड, दुई महिनादेखि कालोपत्रे ठप्प


चितवन, जेठ १९ गते । विस्तार भइरहेको मुग्लिङ–मलेखु सडकखण्डमा दुई महिनादेखि काम ठप्प भएको छ । अलकत्रामा भएको भारी मूल्यवृद्धिका कारण निर्माण कम्पनीले खरिद गर्न नसकेको भन्दै कालोपत्रेको काम अहिले हुन नसकेको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले दुई महिनादेखि कालोपत्रे हुन नसकेको बताउँदै भन्नुभयो, “अलकत्राको मूल्य बढेको भन्दै निर्माण व्यवसायीले कालोपत्रे गरेका छैनन् । कालोपत्रे गर्नका लागि तयारी अवस्थामा छौँ तर काम हुन सकेको छैन ।” मजदुर र निर्माण सामग्रीको अभावले विस्तार कार्यले गति लिन नसकेको उहाँको भनाइ छ ।

केही वर्ष निर्माण सामग्रीको अभावले गर्दा सडक विस्तारका काममा समस्या आएको थियो । मलेखुनजिकै त्रिशूली नदीको लामाबगर क्षेत्रमा आवश्यक निर्माण सामग्री निकाल्न ठेक्का लागे पनि स्थानीयको विरोधका कारण सामग्री निकाल्न सकिएको थिएन, प्रमुख अधिकारीले भन्नुभयो ।

तत्कालीन गृहमन्त्री सुदन गुरुङले समस्या समाधान गरेर अन्य स्थानबाट सामग्री निकाल्न सकिने व्यवस्था गरेपछि अहिले गिट्टी, बालुवाको समस्या छैन । “सडक विस्तारका लागि चाहिने निर्माण सामग्री पनि अपुग छैन,” उहाँले भन्नुभयो, “मूल्यवृद्धिले समस्या खडा गरेको हो ।हामीले ठेकेदार कम्पनीलाई छिटो कालोपत्रे गर्नका लागि दबाब दिएका छौँ तर उनीहरूले खरिद गरेर काम गर्न सकिने अवस्था नभएको भन्दै काम अगाडि बढाउन सकेका छैनन्,” उहाँले भन्नुभयो । चैतमा मूल्यवृद्धिपछि मौजाद रहेका सामग्रीबाट केही काम भए पनि अहिले कालोपत्रेको काम हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रले कालोपत्रे नभए पनि सडकको दायाँबायाँ ढल निर्माणलगायतका काम भइरहेको बताउनुभयो । “कालोपत्रे भएको छैन तर सडकको अन्य काम भइरहेको छ । ढल निर्माण, सडक फराकिलो पार्नका लागि बाधा पार्ने सामग्री हटाउने काम भइराखेको छ,” उहाँले भन्नुभयो ।

यसैबिच लामो समयदेखि जग्गाको विवादका कारण काम हुन नसकेको चरौँदी र हुग्दीको पुलको काम सुरु भएको उहाँले बताउनुभयो । पुलको दुवैतर्फ रहेको घरको जग्गाको मुआब्जाको विवाद समाधान गरेर पुलको पिल्लर उठाएर स्ल्याप हाल्ने तयारी भएको सूचना अधिकारी मिश्रले बताउनुभयो । अब मुग्लिङ–मलेखु सडकखण्ड अन्तर्गत रहेको चरौँदी र हुग्दीबाहेकका सबै पुलको निर्माण पूरा भएको उहाँले बताउनुभयो । केही महिनाभित्रै दुई वटा पुलको निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।

यसै गरी मुग्लिङ बजार क्षेत्रमा सडक विस्तारका काम अगाडि बढाइएको छ । मुग्लिङ बजारमा छ लेनको सडक निर्माण गरिने भएसँगै यस क्षेत्रमा रहेका अवरोध हटाउने र भत्काइने घरटहरामा रेखा लगाउने काम भइरहेको मिश्रले बताउनुभयो ।

मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर सडकखण्डमा हाल ढल निर्माण तथा सडक पेटीको काम भइरहेको मिश्रले बताउनुभयो । आयोजनाका अनुसार हालसम्म ४४.५ प्रतिशत काम सम्पन्न भएको छ । शर्मा–जेडआइसिजी जेभीसँग चार अर्ब ८० करोड ५९ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सडक विस्तारको काम २०८२ पुस १३ सम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा ढिलाइ भएपछि २०८३ असारसम्म म्याद थप गरिएको थियो । थपिएको म्यादमा काम सम्पन्न हुन कठिन भएपछि म्याद थप गर्ने तयारी भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।