

काठमाडौँ, जेठ १३ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । बुधवार प्रतिनिधिसभामा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको सर्वेक्षणअनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र भू–राजनीतिक तनावका बिच नेपालको समग्र अर्थतन्त्रका सूचकहरू मिश्रित देखिको उल्लेख गरिएको छ ।
त्यस्तै, बाह्य क्षेत्र (विदेशी मुद्रा सञ्चिति र विप्रेषण) उत्साहजनक देखिए पनि आन्तरिक उत्पादन र राजस्व सङ्कलनमा अझै चुनौती कायम रहेको सर्वेक्षणले औँल्याएको छ ।
भर्खरै सम्पन्न नेपालको सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको कुरालाई अर्थतन्त्रको सकारात्मक सन्देशको रूपमा लिइएको छ । चालु आर्थिक वर्षमा ३.८५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सरकारले गरेको छ । त्यस्तै, चालु वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँको पुग्ने अनुमान पनि सरकारको छ ।
त्यस्तै, अन्य आर्थिक सूचकहरू
–प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने।
–गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने।
–कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहने।
–सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको।
–कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब। कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत पुगेको छ।
–व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुगेको छ।
–विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रहेको छ । १८.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त।
क्षेत्रगत योगदान
–अर्थतन्त्रमा कृषिको योगदान २४.० प्रतिशत र गैर कृषि क्षेत्रको ७६.० प्रतिशत रहने
–अर्थतन्त्रमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने ।
–बागमती प्रदेशले कुल जीडीपीमा सबैभन्दा बढी (३६.७ प्रतिशत) र कर्णालीले सबैभन्दा कम (४.२ प्रतिशत) योगदान गर्ने
उपभोग र मूल्यवृद्धि (मुद्रास्फीति)
–नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च नै छ ।
–कुल उत्पादनको ९०.३ प्रतिशत हिस्सा उपभोगमा खर्च हुने
–कुल उपभोगमा निजी क्षेत्रको ९१.२६ प्रतिशत, सरकारी क्षेत्रको ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको २.१२ प्रतिशत हिस्सा
–विश्व बजारमा मूल्यवृद्धिको चाप रहे पनि नेपालमा भने मुद्रास्फीति वाञ्छित सीमा भित्रै रहने
–फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत
बाह्य क्षेत्र : व्यापार, विप्रेषण र विदेशी मुद्रा सञ्चिति
– विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड: विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा
–फागुनसम्म कुल सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
–रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ७० करोड
–शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब र चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा
– व्यापार घाटा : वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड
–कुल व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत मात्र छ।
सार्वजनिक वित्त र ऋणको अवस्था
– बजेट र राजस्व : चालु वर्षको फागुनसम्म सङ्घीय खर्च १०.४ प्रतिशत र राजस्व ३.२ प्रतिशतले वृद्धि
–सङ्घीय सरकारको वित्त सन्तुलन ५८ अर्ब १ करोडले घाटामा छ।
– सार्वजनिक ऋण : देशको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड
–आन्तरिक ऋण ४६.८ प्रतिशत र बाह्य ऋण ५३.२ प्रतिशत
–कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण ४३.६ प्रतिशत पुगेको छ।
बैङ्किङ क्षेत्र तथा पुँजी बजार
– बैङ्किङ पहुँच र कर्जा : फागुनसम्म निक्षेप खाता ६ करोड २० लाख र कर्जा खाता २० लाख ४० हजार पुगेको
–मोबाइल बैङ्किङ प्रयोगकर्ता करिब ३ करोड पुग्न
–निक्षेप ६.६४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले वृद्धि
–बैङ्कहरूमा निष्क्रिय कर्जाको औसत अनुपात ५.४२ प्रतिशत पुगेको छ।
– सेयर बजार : नेप्से सूचकाङ्क २८२०.४५ बिन्दुमा पुगेको छ
–कुल बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब पुगेको छ ।
–डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कुल जनसङ्ख्याको २६ प्रतिशत हो ।
गरिबी, रोजगारी र सामाजिक सुरक्षा
– गरिबी : निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ ।
– सामाजिक सुरक्षा : सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही ३६ लाख ४१ हजार पुगेका छन्।
–योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक आबद्ध छन्।
– विदेशी रोजगारी : वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६९ लाख नाघेको छ
–चालु वर्षमा मात्र २ लाख ७३ हजार नयाँ र २ लाख ५१ हजारले पुनः श्रम स्वीकृति लिएका छन्।
– राष्ट्रिय परिचयपत्र : हालसम्म २ करोड १ लाखको विवरण सङ्कलन भएकोमा ४० लाख ३३ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।
स्वास्थ्य, शिक्षा र मानव विकास
– स्वास्थ्य : मातृ मृत्युदर प्रति लाख जीवित जन्ममा १५१ मा झरेको छ
–बाल मृत्युदर ३१ रहेको छ। २१ लाख ४८ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध छन् ।
–सरकारी अस्पतालको सङ्ख्या ८,९७६ पुगेको छ।
पूर्वाधार, ऊर्जा, कृषि र पर्यटन
– सडक र यातायात : मुलुकभर १ लाख ४ हजार ९ सय ६ किमी सडक विस्तार
– टेलिफोन घनत्व १०३.२ प्रतिशत र इन्टरनेट पहुँच १४५.७ प्रतिशत पुगेको छ।
– ऊर्जा : ९९.१ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ ।
–कुल जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ
– भारततर्फ २९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ ।
– उद्योग र पर्यटन : चालु वर्षमा उद्योग विभाग र लगानी बोर्डमार्फत ४ खर्ब ९२ अर्बको लगानी स्वीकृत भएको छ ।
–पर्यटनमा सुधार आउँदै सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिने र उनीहरूको औसत बसाई १६.३४ दिन पुग्ने अनुमान छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































