09/23/2026, 19:48:44
बुधबार, असोज ०७, २०८३
हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३

पत्रकारिताको गरिमा जोगाउन निर्मम समीक्षा र सुधार आवश्यक: सञ्चारमन्त्री डा. तिमिल्सिना


काठमाडौँ, असोज ७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३‘ लाई सम्बोधन गर्दै उहाँले पत्रकारिता आफैँमा एउटा संस्था भएकाले यसको शाख जोगाउने जिम्मेवारी सबैको सामूहिक भएको स्पष्ट पार्नुभयो।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अर्बौंको सम्पत्ति र पूर्वाधार भएर पनि संस्था किन कमजोर भए भन्नेबारे गम्भीर प्रश्न उठाउनुभयो। स-साना समस्यालाई लिएर आरोप-प्रत्यारोप गर्दै सडकमा जाने प्रवृत्तिले समस्या समाधान नहुने भन्दै उहाँले विधि, विधान र संस्थागत प्रणालीलाई बलियो बनाएर विगतका गलत अभ्यास सुधार्न सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले पत्रकारिता जोखिमपूर्ण पेसा भए पनि पत्रकारहरूले आफ्नो व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिनुपर्ने बताउनुभयो। प्रेस पास हुँदैमा वा पत्रकार भएकै आधारमा अकारण जीवन जोखिममा हालेर रिपोर्टिङ गर्ने सोच राख्न नहुने भन्दै उहाँले सम्भव भएसम्म सुरक्षा सतर्कता अपनाएर मात्र व्यावसायिक जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो।

सोही समारोहमा ताप्लेजुङको घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरिएको ‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार‘ बाट यस वर्ष पाँच जना पत्रकारलाई सम्मान गरिएको छ। जेन-जी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गर्ने र जलवायु परिवर्तनसम्बन्धी समाचार सामग्री तयार पार्ने सञ्चारकर्मीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कृत पत्रकारहरूको नामावली

क्र.सं.पत्रकारको नामसञ्चार माध्यम / ठेगानापुरस्कार पाउनाको कारण / विषय
रामचन्द्र अर्यालहिमालय टेलिभिजन (संवाददाता)जेनजी आन्दोलनका क्रममा गरिएको जोखिमपूर्ण रिपोर्टिङ
दिवाकर पोखरेलहिमालय टेलिभिजन (क्यामेरापर्सन)जेनजी आन्दोलनका क्रममा गरिएको जोखिमपूर्ण रिपोर्टिङ
श्याम श्रेष्ठकान्तिपुर टेलिभिजन (क्यामेरापर्सन)जेनजी आन्दोलनका क्रममा गरिएको जोखिमपूर्ण रिपोर्टिङ
शिव सिलवालनेपाल टेलिभिजन (धादिङ संवाददाता)जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्री
अञ्जिर सिंह विकनेपाल टेलिभिजन (भक्तपुर संवाददाता)जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्री