09/24/2026, 10:00:35
बिहिबार, असोज ०८, २०८३

जनकपुर बोल्ट्समा पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद आबद्ध


मिति: ८ असोज, काठमाडौं

काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद ‘जनकपुर बोल्ट्स’ टोलीमा आबद्ध भएका छन्।

जनकपुर बोल्ट्सले आफ्नो सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको आधिकारिक घोषणा गरेको हो। दायाँहाते ब्याटिङ र अफ-स्पिन बलिङ गर्ने इफ्तिखार अनुभवी अलराउन्डर हुन्।

इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय (T20I) खेल खेल्दै ९९८ रन बनाएका छन् भने ८ विकेट लिएका छन्। समग्र टी–२० क्रिकेटमा उनको रेकर्ड अझै फराकिलो छ, जहाँ उनले ३२९ खेलमा ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट हात पारिसकेका छन्।

विश्व क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाइसकेका इफ्तिखारले पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग (एलपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विश्वका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

नेपाली क्रिकेट समर्थकमाझ इफ्तिखार २०२३ को एसिया कपमा नेपालविरुद्ध प्रहार गरेको शतकका कारण विशेष रूपमा परिचित छन्। त्यसै खेलमा उनको अविस्मरणीय पारीले पाकिस्तानलाई विशाल स्कोरतर्फ डोर्‍याएको थियो। उनको आगमनसँगै एनपीएलको तेस्रो संस्करण अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।