09/24/2026, 16:12:24
बिहिबार, असोज ०८, २०८३

देशभर ४ दिनसम्म भारी वर्षाको चेतावनी: ‘रेड अलर्ट’ जारी, धनकुटा र धादिङमा रात्रिकालीन सवारी आवागमन बन्द


काठमाडौँ, असोज ८ गते । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्मका लागि चार दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएको छ ।

महाशाखाका अनुसार असोज ९ र १० गते देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । असोज ९ गते बागमती, मधेश तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावनासहित ‘रेड अलर्ट’ जारी गरिएको छ भने असोज १० गते भारी वर्षाको प्रभाव पश्चिमतर्फ सर्ने र कर्णाली, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम रहने प्रक्षेपण गरिएको छ ।

धनकुटा र धादिङमा रात्रिकालीन सवारी आवागमनमा रोक
भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रशासनले असोज ७ देखि ११ गतेसम्म राति ९ देखि बिहान ५ बजेसम्म भेडेटारदेखि रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने जोखिमयुक्त भित्री सडकमा सवारी आवागमन बन्द गरेको हो ।

यसैगरी, अविरल वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पनि पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ । आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा उल्लेख छ ।

नुवाकोटमा उच्च सतर्कता, विद्यालय बन्द गर्ने अधिकार
जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिका, नुवाकोटले असोज ९ देखि ११ गतेसम्म अति आवश्यक काम बाहेक यात्रा नगर्न र नदी किनार, पहिरो जोखिमयुक्त बस्ती तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सजग रहन आग्रह गरेका छन् । विपद्को समयमा तत्काल सूचना आदान–प्रदानका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको हटलाइन नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसैगरी, नगरक्षेत्रका विद्यालयलाई आवश्यकताअनुसार वर्षाको अवस्था हेरी दुई दिनसम्म विदा दिने अधिकार नगर प्रशासनलाई दिइएको छ ।

कञ्चनपुर र डडेलधुरामा प्रभावमा आधारित चेतावनी
मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका ३ पालिका (दोधाराचाँदनी, वेदकोट र भीमदत्त) र डडेलधुराको परशुराम नगरपालिकामा प्रभावमा आधारित मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

२०८१ साल असारमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा रेकर्ड गरी ‘तराई क्लाउड बर्ष्ट’ को इतिहास रचेको दोधाराचाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा फेरि डुबानको उच्च सम्भावना रहेको छ । भीमदत्त नगरपालिकाको वडा नम्बर १२ मा पानी जम्ने सम्भावना उच्च रहेको छ भने वेदकोट नगरपालिकाका वडा नम्बर १, ५, ६, १० तथा लालपुर, सुडा, दैजी क्षेत्रमा डुबान र नदी कटानको जोखिम छ ।

डडेलधुराको परशुराम नगरपालिकाका वडा नम्बर १, २, ६, ७, ८, १० र ११ मा बाढीपहिरोले सडक अवरुद्ध हुने र संरचनामा क्षति पुर्‍याउन सक्ने जोखिम औँल्याइएको छ ।

सार्वजनिक अपिल
महाशाखा र स्थानीय प्रशासनले सर्वसाधारणलाई रातिको समयमा वा पानी परिरहेका बेला राजमार्ग र जोखिमयुक्त सडकमा यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम भएका क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ । कृषकहरूलाई धानबाली नकाट्न वा काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न, पशुचौपायालाई उच्च स्थानमा सार्न र निर्माणस्थलका उपकरण सुरक्षित गर्न सुझाव दिइएको छ ।