05/26/2026, 21:19:20
मङ्गलबार, जेठ १२, २०८३

विदेशमा रहेका नेपालीको सहजताका लागि ‘मोफा मित्र’ एप सञ्चालन


काठमाडौँ, जेठ १२ गते । सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । कन्सुलर सेवा विभागमा मङ्गलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सो एपको शुभारम्भ गर्नुभएको हो ।

अब ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नै स्थानबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।

विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै उहाँले सरकारले विभिन्न सरकारी निकाय, गन्तव्य मुलुक र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा नेपालीको तथ्याङ्क सङ्कलन सुरु गरेको जानकारी दिनुभयो । यसबाट भविष्यमा कन्सुलर सहायता र आपत्कालीन उद्धार कार्य छिटो तथा प्रभावकारी हुने उहाँको भनाइ छ । विदेशमा रहेका नेपालीहरूले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ‘मोफा मित्र’ एप विकास गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हाल छ जना नेपालीमध्ये एक जना विदेशमा छन् । करिब ५० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो पर्दा कहाँ जाने र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल हटाउन एउटै एपमार्फत सेवा दिने प्रयास गरिएको बताउनुभयो । उहाँले नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले एप डाउनलोड गरी समस्या पर्दा सहज रूपमा गुनासो दर्ता गर्न सक्ने उल्लेख गर्नुभयो । गुनासोको अवस्थाबारे अनुगमन (ट्रयाक) गर्न सकिने र समयमा सम्बोधन नभए थप पहल गर्न सकिने व्यवस्था पनि गरिएको उहाँको भनाइ छ । मन्त्री खनालले एपलाई आगामी दिनमा थप विस्तार र परिमार्जन गर्दै लग्ने पनि बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो, “विदेशमा रहेका नेपालीको तथ्याङ्क नहुनु र उद्धार एवम् सहायतामा समन्वयकारी संयन्त्रको कमी हुनु दुःखद विषय हो । हामी मन्त्रालयमा आइसकेपछि नेपालभन्दा बाहिर दुःखमा, अप्ठ्यारोमा पर्नुभएका नेपालीको उद्धारको सहजीकरणको विषय एकदमै बढी आउने गरेको छ । धेरै नागरिकलाई कन्सुलर सेवा विभागले प्रदान गर्ने सेवाका बारेमा जानकारी नहुँदा अन्योल देखिएको छ । हामीले त्यो अन्योललाई चिर्दै सकेसम्म एउटै प्रविधि र एउटै एपमार्फत ‘एकद्वार प्रणाली’ बाट यो सेवालाई अगाडि बढाउन खोजेका छौँ ।” उहाँले भारतमा अनौपचारिक तरिकाले जाने नेपालीहरूको सङ्ख्या पनि ठूलो रहेको भन्दै हरेक परिवार कुनै न कुनै हिसाबले नेपाल बाहिरसँग जोडिएको उल्लेख गर्नुभयो ।

मन्त्री खनालले ‘लीगल नेपाल कन्सुलर डट जीओभी डट एनपी’ (legalnepal.consular.gov.np) अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार हाल उक्त प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग तथा करिब पाँच सय स्थानीय तहमा विस्तार भइसकेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै ७ सय ५३ स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

अनलाइन प्रणालीमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा जेलमा रहेका नेपालीहरूको उद्धार तथा कानुनी सहायता, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने वा विदेशमै अन्त्येष्टि गर्ने प्रक्रिया, बिमा तथा क्षतिपूर्ति दाबी लगायतका कार्यमा सहजीकरण भएको उहाँको भनाइ छ । उहाँले परराष्ट्र मन्त्रालयका सेवालाई क्रमशः पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्य लिएको पनि बताउनुभयो ।