काठमाडौँ, जेठ १० गते । अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जितेको छ । कान्सको मुख्य प्रतिस्पर्धापछिको दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’ अन्तर्गत ‘क्लोजिङ सेरोमनी’मा यो फिल्मले उक्त अवार्ड हात पारेको हो ।
यस विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नरको फिल्म ‘एभ्रिटाइम’ ले जित्यो । त्यसपछिको दोस्रो मुख्य अवार्ड (जुरी प्राइज) भने नेपाली फिल्मले प्राप्त गर्न सफल भयो ।
हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको एक परिवारको कथा बोलेको यस फिल्ममा आमा र छोरीको गहिरो सम्बन्ध देखाइएको छ । यो परिवारले फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ, जहाँ सोही समुदायका व्यक्तिहरूले नै अभिनय गरेका छन् । अवार्ड घोषणा भएसँगै कलाकारको टोलीले मञ्चमै नाचेर खुसी मनाएका थिए ।
फिल्मकी अभिनेत्री पुष्पा थिङले अवार्ड जितेलगत्तै निर्देशक शाहलाई नेपालको राष्ट्रिय झन्डा ओढाइदिएकी थिइन् । यसअघि गत ६ जेठमा कान्समा भएको फिल्म प्रिमियरका क्रममा पनि यसले निकै तारिफ बटुलेको थियो । प्रिमियरका दिन ‘साल डुबुसी थिएटर’ दर्शकले हाउसफुल थियो । ‘प्रेस स्क्रिनिङ’ पछि नै दर्शकहरू फिल्मको चर्चा सुनेर टिकट किन्न झुम्मिएका थिए ।


फिल्म सकिएपछि दर्शकबाट पाएको ‘स्ट्यान्डिङ ओभेसन’ का कारण कलाकारहरू भावुक बनेका थिए । कलाकार पुष्पा थिङ र निर्माता अनुप पौडेलले निर्देशक अविनाशलाई अँगालो हालेर खुसी साटेका थिए भने हलमा उपस्थित सबै कलाकारका आँखामा खुसीको आँसु देखिन्थ्यो ।
निर्माता अनुप पौडेलले भने, ‘प्रिमियर एकदम बबाल भयो, सबैले फिल्म मन पराए । यतिका वर्षको मिहिनेत त्यहाँ पुग्दा र स्ट्यान्डिङ ओभेसन पाउँदा निकै भावुक भइँदो रहेछ ।’ उनका अनुसार कान्सका दर्शकहरूले फिल्ममा ‘नन–एक्टर’ (गैरव्यावसायिक कलाकार) हरूको अभिनयलाई निकै मन पराएका छन् र बाटोमा हिँड्दासमेत मानिसहरूले फिल्मको चर्चा गरिरहेको भेटिएको थियो । फिल्ममा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको मुख्य भूमिका छ । फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्की लगायतको अभिनय छ ।
बलिउडका प्रसिद्ध फिल्म निर्देशक अनुराग कश्यपले पनि कान्समा यो फिल्म हेरेपछि मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्महरूको मूल्यांकन र समीक्षा गर्ने प्लाटफर्म ‘लेटरबक्सडी’ मार्फत उनले लेखेका छन्, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । एलिफेन्ट्स इन द फगमार्फत नेपाली फिल्मले ठूलो फड्को मारेको छ ।’


ऐतिहासिक अवार्ड जितेपछि अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै लेखेकी छन्, ‘नेपाली र कला क्षेत्रका लागि एक ऐतिहासिक जित ।’ अभिनेता दयाहाङ राईले पनि यसलाई नेपाली सिने क्षेत्रको गर्विलो क्षणका रूपमा उल्लेख गरेका छन् ।
फिल्म वृत्तमा मात्र नभई राजनीतिक वृत्तले पनि नेपालको यो ऐतिहासिक सफलतामा खुसी साटेको छ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले यो महत्त्वपूर्ण उपलब्धिले नेपाली चलचित्र क्षेत्रको क्षमता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा भएको उल्लेखनीय प्रगतिलाई स्पष्ट रूपमा उजागर गरेको उल्लेख गरेका छन् । ‘साथै, नेपाली कथा, संस्कृति तथा सामाजिक यथार्थलाई विश्वकै प्रतिष्ठित मञ्चमा सफलतापूर्वक प्रस्तुत गर्नु राष्ट्रकै गौरवको विषय हो,’ उनले भनेका छन् ।


निर्देशक शाहले कान्समा नेपालका तर्फबाट ऐतिहासिक सफलता हासिल गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०२२ मा उनकै निर्देशनमा बनेको १४ मिनेट लामो लघु फिल्म ‘लोरी’ ले कान्समा ’स्पेसल मेन्सन अवार्ड’ जितेको थियो, जसमा बालविवाहको विषय समेटिएको थियो ।
ओस्कार इन्टरनेसनल कलेजबाट चलचित्र निर्माणको अध्ययन सुरु गरेका अविनाशले नेपाली सिनेमालाई विश्वमञ्चमा चिनाउन र यसको भाष्य परिवर्तन गर्न ऐतिहासिक योगदान दिँदै आएका छन् । निर्देशनका साथै उनले थुप्रै उत्कृष्ट नेपाली फिल्महरूको सहलेखनसमेत गरेका छन् । उनले बर्लिन फिल्म फेस्टिभलमा पुगेको ‘हाइवे’ (२०१२), भेनिसमा अवार्ड जितेको तथा ओस्कारमा सिफारिस भएको ‘कालो पोथी’ (२०१५) र बर्लिनको मुख्य प्रतिस्पर्धामा छानिएर इतिहास रचेको ‘शम्भला’ (२०२४) को सहलेखन पनि गरेका छन् ।
– समर्पण श्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































