05/24/2026, 09:49:13
आइतबार, जेठ १०, २०८३

पोखरा बसपार्क जग्गा अपचलनको छानबिन हुने


लेखनाथ, जेठ १० गते । सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग टुङ्गिने पोखराको पृथ्वीचोकमा २०३२ सालबाट सुरु भएको बसपार्क बनाउने अभियान पाँच दशकमा पनि पूरा भएन ।

त्यसबेला बसपार्कका लागि अधिग्रहण गरिएको दुई सय पाँच रोपनीमध्ये अहिले २६ रोपनीमात्र खाली छ । त्यहाँ जग्गाधनीहरुलाई अपारदर्शी रुपमा सट्टाभर्नामा जग्गा दिनेदेखि कौडीको भाउमा बसपार्कको जग्गा बिक्री भएको छ भने पाँच सय ७५ सुकमबासीका टहरा यहाँ छन् ।

बसपार्कका लागि अधिग्रहण भएको जग्गा मनोमानी तवरले वितरण, बिक्री गरिएकोमा त्यसको छानबिन हुने भएको छ । दुई दिनअघि गोरखापत्रले पोखरा बसपार्कको जमिन अवैधानिक तवरले अपचलन भएको समाचार प्रकाशन गरेको थियो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ भएको काममा सबैको साथ मिल्ने अपेक्षा सुनाउनुभयो । उहाँले बसपार्कको जग्गा बिक्रीबारे छानबिन सुरु भएको उल्लेख गर्नुभयो ।

जग्गा सट्टापट्टा तथा लालपुर्जा वितरणका क्रममा केही कमीकमजोरी भएको, नपाउनुपर्ने व्यक्तिले समेत सुविधा पाएको तथा केही असमानता भएको भन्ने गुनासोसमेत प्राप्त भएको छ,” उहाँले भन्नुभयो, “यस विषयको सत्यतथ्य छानबिन गरी समस्या समाधानका लागि न्यायिक छानबिन समिति गठन गरिनेछ ।

पोखराको बहुप्रतीक्षित योजना पोखरा बसपार्क निर्माणका लागि महानगरले अधिग्रहण गरिएको सबै जग्गामा बसपार्क बनाउने गरी तयारी गरेको हो । यसअघि वैशाख ४ गते बसपार्कका संरचनाहरु हटाउन निकालिएको ३५ दिने सूचनाको म्याद शनिबार सकिएपछि फेरि १५ दिने सूचना शनिबारै प्रकाशन गरिएको छ ।

शनिबार भएको छलफलपछि बसपार्क क्षेत्रमा रहेका जग्गाधनीहरू सटर, कबलहरू १५ दिनभित्र खाली गर्न सहमत भएका छन् । त्यही सहमति अनुसार पोखरा उपत्यका नगर विकास समितिले १५ दिनको समयसीमा दिएर जग्गाधनी पुर्जा भएको जमिनमा रहेका पसल, कबल, कम्प्लेक्स र पेट्रोल पम्पसमेत हटाउन सूचना जारी गरेको हो ।

बसपार्क क्षेत्रमा यसअघि चार सय हाराहारी सुकमबासी रहेको रेकर्ड रहेकोमा पोखरा ९ को वडा कार्यालयमा पाँच सय ७५ सुकुम्बासी तथा भूमिहीन परिवारले विवरण दर्ता गराएका छन् ।

शनिबार प्रकाशित भएको १५ दिनको समयसीमाभित्रै वास्तविक सुकमबासी परिवारलाई उचित व्यवस्थापन गरिने प्रमुख आचार्यको भनाइ छ । “पोखरा बसपार्क यहाँको गौरवको योजना हो, यसलाई सफल पार्न यसलाई खाली गर्ने र सुकमबासीको व्यवस्थापन सँगसँगै अघि बढाउँछौँ,” आचार्यले भन्नुभयो ।

blog

राजमार्गसँगै जोडिएको बसपार्कको जग्गा बसभित्र पस्ने बाटोमात्र राखेर मोहोडातिर वारपार व्यक्तिको स्वामित्वमा छ । सट्टाभर्नाबापत २० रोपनी पाँच आना र सहुलियतमा १६ रोपनी १४ आना जग्गा बिक्री भएको छ । अहिले पोखरा उपत्यका नगर विकास समितिसँग कित्ता नम्बर ८६६४ को एक सय ४८ रोपनी बाह्र आना जग्गाको मात्र जग्गाधनी पुर्जा भए पनि अधिकांश भागमा सुकमबासीका टहरा छन् ।

२०३६ तिर यहाँ सुकुमवासी बस्न थालेकोमा अहिले पाँच वटा टोल छन् । अधिकांश घर अस्थायी खालका भए पनि दर्जनभन्दा बढी पक्की भवनसमेत देखिन्छन् । सबैजसो घरमा बिजुली, पानीको सुविधा छ भने गल्ली गल्लीका बाटोसमेत ढलान छन् । समितिको स्वामित्वमा रहेको यो जग्गाबाट एक पटक ३७ वटा र अर्काे पटक ११ वटा घडेरी व्यक्तिलाई बेचिएको विभिन्न अध्ययनले देखाएका छन् । त्यसरी बेचिएका केही घडेरीमा टहरा बनाई भाडामा दिइएकोसमेत पाइएको छ ।

– फडिन्द्र अधिकारी