काठमाडौँ, जेठ ३ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा देखिएको विवाद समाधानका लागि आफूले निरन्तर कोसिस गरिरहेको बताउनुभएको छ।
प्रजातान्त्रिक विचार समाजको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू हदैसम्म लचिलो हुन तयार रहेको बताउनुभएको हो। उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन आफू तयार रहेको उल्लेख गर्नुभयो। महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेता हाल केन्द्रीय समिति बाहिर रहेको उल्लेख गर्दै उहाँले सबै नेतासँग मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीमा विशेष महाधिवेशन पक्षधर र विपक्षधर भनेर कसैलाई पनि भेदभाव नगरी सबैलाई समान अवसर दिने प्रस्ताव गरेको जानकारी दिनुभयो।
सभापति थापाले भन्नुभयो, “पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएका नेताहरूको ठुलो पङ्क्ति हाल केन्द्रीय समितिबाहिर छ। म त्यो प्रत्येक नेता जसले चाहनुहुन्छ, उहाँहरूलाई अहिलेको केन्द्रीय समितिभित्र ल्याएर सम्मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता र जसलाई जुन स्थानमा उपयुक्त हुन्छ, त्यहीँ राखेर सँगै लिएर काम गर्न चाहन्छु। यो मेरो प्रस्ताव हो। महाधिवेशनको तिथिमिति तय भइसकेको छ।
निर्वाचन समितिमा को–को राख्दा सजिलो हुन्छ, राख्न सक्नुहुनेछ। सदस्यतासम्बन्धी समितिमा कसलाई राख्ने हो, नाम ल्याउनुस्, राखौँ र सदस्यताको कुरा टुङ्ग्याऔँ। अनुशासन समितिमा अन्याय हुन्छ कि भन्ने लागेमा त्यहाँ पनि नाम प्रस्ताव गर्नुस्। अवसर दिने क्रममा भेदभाव हुँदैन। को विशेष महाधिवेशनको पक्षमा थियो वा को थिएन भन्ने आधारमा पार्टीभित्र अवसर पाउने र निर्णय गर्ने परिपाटी हुँदैन।”
उहाँले पार्टीको विवाद समाधान गर्नका लागि पटक–पटक छलफल गरिरहेको भए पनि सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टि जनाउनुभयो। देशभरका कांग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताले अद्यावधिक नगर्न उक्साइरहेको आरोप उहाँले लगाउनुभयो।
उहाँले थप्नुभयो, “कांग्रेसका देशभर रहेका सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा भौतिक रूपमा वडा कार्यालय गएर म नेपाली कांग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनिदिनुस् भन्दै गर्दा पनि उल्टै ‘काग्रेसको सदस्य हुँ भन्लास नि त, कांग्रेस सिध्याउने भइस्’ भनेर नेताहरूको अभिव्यक्ति सुनिरहेको छु। अद्यावधिक नगर्नका लागि आह्वान गर्ने लहर चलेको छ। अद्यावधिक नगर्ने भनेको के हो?”
उहाँले सबै नेतालाई सदस्यता अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो। पार्टीमा एकता कायम राख्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुनः फिर्ता गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































