

काठमाडौं, वैशाख २९ गते । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित १२ कक्षाको व्यवस्थापन र विज्ञान संकायको परीक्षाअगावै प्रश्नपत्र लिक गर्ने काठमाडौंस्थित एक कलेजका २ कर्मचारी पक्राउ परेका छन् । प्रश्नपत्र बाहिरिएको सूचनालगत्तै साइबर ब्यूरोले गरेको अनुसन्धानबाट उनीहरूको संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन् ।
ब्यूरोका एसपी दिलिपकुमार गिरीका अनुसार, प्रारम्भिक जाँचमा संलग्न देखिएपछि काठमाडौं-३२, सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही र काठमाडौं–१०, कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीका अनुसार शाही उक्त कलेजका काउन्सिलिङ अफिसर हुन् भने श्रेष्ठ आईटी अफिसर हुन् ।प्रहरीले कलेजको नाम भने सार्वजनिक गरेको छैन ।
परीक्षा हुनुभन्दा केही समय अगाडि पाउने प्रश्नपत्र निकालेर प्रिन्ट गर्ने जिम्मेवारी श्रेष्ठलाई थियो । तर, उनले निकालेर शाहीलाई दिएका थिए । उनले जवाफसहितको प्रश्नपत्र विद्यार्थीको ह्वाट्स एप ग्रुपमा हालिदिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । ‘प्रारम्भिक जाँचमा केही कुरा पुष्टि भइसकेका छन्, थप बयान प्रअब सुरु हुन्छ,’ एसपी गिरीले भने, ‘विस्तृत अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाइसकेका छौं । कुन कुन विषयको प्रश्नपत्र लिक भएको थियो भन्ने अझै जाँच भइरहेको छ ।’
– गौरव पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































