08/24/2026, 20:43:18
सोमबार, भदौ ०८, २०८३

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए प्रदेशसभाबाट विश्वासको मत


मोरङ, भदौ ८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा उहाँको पक्षमा ५७ मत र विपक्षमा २२ मत परेको थियो ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) का ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका २९ मध्ये २२ सदस्यले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ जना मतदानमा सहभागी भएनन् । जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहनुभएको थियो ।

९२ सदस्य कायम रहेको प्रदेशसभाको सोमबारको बैठकमा ८३ जना सदस्यहरूको उपस्थिति रहेको थियो । विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई प्रदेशसभाको समर्थन कायम भएको छ ।