पोखरा, वैशाख २७ गते । पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) अन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलको अवरोध हटेपछि निर्माण कार्य पुनः सुरु भएको छ।
सेती नदीको उत्तर–पूर्वी भागमा रहेका स्थानीय केदार पौडेल र माधव पौडेलले मुआब्जा विवादका कारण आफ्नो घर भत्किने भएपछि पुल निर्माणमा रोक लगाउनुभएको थियो। हाल उचित क्षतिपूर्ति पाएपछि उहाँहरूबीच सहमति जुटेको हो। क्षतिपूर्ति बापतको ५० प्रतिशत रकममध्ये केदार पौडेलले १३ लाख र माधव पौडेलले ९ लाख रुपियाँ बुझेपछि निर्माण कार्य अघि बढाउन सहमति भएको योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार विवादका कारण २०८१ माघ १ गतेदेखि निर्माण कार्य ठप्प रहेको थियो।
राजमार्गको केन्द्रविन्दुबाट २५–२५ मिटर दायाँबायाँ मापदण्ड रहेकामा दुवैका घर मापदण्डभित्रै परेकाले अगाडिको भाग हटाएर पुल निर्माण गर्न लागिएको हो। साविकको पुलको उत्तर–पूर्व र दक्षिण–पश्चिममा गरी दुईवटा नयाँ पुल बन्दै छन्। आकर्षक डिजाइनमा बन्न लागेको यो पुलको दुवैतर्फ पिलर हुनेछन् भने बीचमा फलामे लट्ठाले सहारा दिनेछ। प्राविधिक रूपमा यसलाई ‘सिग्नेचर ब्रिज’ नामकरण गरिएको छ।


कुल एक अर्ब सात करोड रुपियाँ (भ्याटसहित) मा सम्पन्न हुने यी दुई पुल चार लेनका हुनेछन्। बीचमा साविकको पुल रहने भएकाले पोखरा महानगरपालिका वडा नं. ९ र १० जोड्ने यो खण्ड कुल ६ लेनको हुनेछ। यस पुलले पोखराको पर्यटकीय गन्तव्यमा थप आकर्षण थप्ने प्रमुख कुँवरको भनाइ छ। दुवै पुलको लम्बाइ १९० मिटर र चौडाइ साढे ११ मिटर रहनेछ। हालसम्म पुलको ६० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ।
रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको यो आयोजना स्थानीयको अवरोध नभएको भए समयमै सम्पन्न हुने प्राविधिकहरू बताउँछन्। २०७९ साउन २४ मा शिलान्यास गरिएको यस पुलको म्याद दोस्रो पटक थप गरी २०८३ माघ मसान्तसम्म पुर्याइएको छ। पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) अन्तर्गतका १३ वटा पुलमध्ये १२ वटाको निर्माण सम्पन्न भइसकेको छ।
– रमेश पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































