05/06/2026, 10:10:27
बुधबार, बैशाख २३, २०८३

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन : प्रधानमन्त्री शाह


काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्दै यसरी झण्डा र झोला निषेध गर्नाले उनीहरूको अधिकार र पेसागत स्वतन्त्रता नै झन बलियो बन्ने बताउनभुएको हो ।

प्रधानमन्त्री शाहले लेख्नुभएको छ, “धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्”, “विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो”, वर्षौंदेखि धेरै सङ्गठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि भएको पनि स्पष्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “चाहने हो भने आजकै दिनमा ठुला सङ्गठन बनाउन सकिन्छ तर अर्को दलगत सङ्गठन थप्दैमा सुधार हुँदैन भन्ने कुरा विगतले देखाइसकेको छ ।

प्रधानमन्त्री शाहले सरुवा र बढुवाको आधार दलगत निकटता नभएर विधि, क्षमता र दक्षता बन्नुपर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन । हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकुन् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति । कर्मचारीले जनताको सेवा सिकुन् कुनै दलको होइन ।

उहाँले सरकारको यो कदम कुनै पार्टीविरुद्धको लडाइँ नभएर प्रणाली बचाउने प्रयास भएको बताउँदै यो भविष्य बचाउने प्रयास तथा देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास भएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङ्क्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाईंहरूकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ ।

यस कार्यमा सरकारले सबैको साथ र विश्वासको अपेक्षा गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरूकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाईंहरू ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।