मध्यविन्दु , वैशाख १३ गते । नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्रे सम्पन्न भएको छ ।
कालोपत्रे सम्पन्न भएको स्थानमा अहिले सडक सुरक्षाका लागि मार्किङ गर्ने तथा आकर्षक देखाउन ग्रिनरीको काम भइरहेको छ । यस सडक खण्डको गैंडाकोटदेखि अरुणखोलासम्म विभिन्न क्षेत्रमा सडक सुरक्षाका लागि लगाइएको कालो पहेँलो रङ (कर्व ) देख्न सकिन्छ ।
सडकको छेउमा र डिभाइडरमा लगाएइको पहेलो र कालो रङ ( कर्व)ले चालकहरूलाई राति वा कुहिरो लागेको बेला सडकको सिमाना स्पष्ट देखाउन मद्दत गर्ने गर्दछ । सडक सुरक्षाका लागि बनाइएको यी संरचनाहरूले पनि यस सडक खण्डलाई थप आकर्षक बनाएको छ ।
यसैगरी सडकको बिचमा लेन छुट्याउनका लागि सेतो र पहेलो रङका रेखाहरू (मार्किङ) गर्ने काम समेत चलिरहेको छ । मार्किङ तथा कर्व सम्पन्न भएको सडकले आधुनिक सडकको झल्को दिएको छ भने सौन्दर्य समेत बढाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस सडक खण्डमा अहिले सौन्दर्यीकरण गर्ने कामसँगै व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ काम तीव्र रूपमा अघि बढिरहेको छ ।


अहिले सडक मार्किङ, ग्रिनरी हरियाली विकास) तथा पानी निकासका संरचनाहरू निर्माणको काम तीव्र गतिमा भइरहेको छ । ग्रिनरी क्षेत्रमा स्थानीयले नै फूलका बोट बिरुवा रोप्ने तथा रेखदेख गर्ने काम गर्न थालेका छन् । आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार आयोजनाले ग्रिनरी क्षेत्रमा हरियो चपरी ( चाइनिज दुबो ) लगाउने काम गर्ने छ । यो काम वर्षाको समयमा हुने उहाँले जानकारी दिनुभयो ।
अहिले ग्रिनरी क्षेत्रलाई व्यवस्थित गर्ने र माटो भर्ने काम पनि भइरहेको खनालले बताउनुभयो । साथै, वर्षायाममा पानी जम्ने समस्या समाधान गर्नका लागि निर्माण गरिएका पानी निकास (ड्रेनेज) संरचनाहरू निर्माण गर्ने काम समेत भइरहेको खनालले बताउनुभयो । पानीको उचित निकास भएपछि सडकमा क्षति हुने सम्भावना कम हुने र यातायात सञ्चालनमा सहजता आउने भएको हुँदा विषेश गरी जङ्गल क्षेत्र तथा उकालो–ओरालो क्षेत्रहरूमा पानी निकास (ड्रेनेज) संरचनाहरू निर्माण गर्ने काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
अन्तिम चरणको काम हुँदै गर्दा सडक केवल यातायातको माध्यम मात्र नभई अहिले सुन्दरता र आधुनिकताको प्रतीक बन्न थालेको भन्दै स्थानीय समेत खुसी भएका छन् । नारायणगढ–बुटवल सडक खण्ड अहिले सौन्दर्य, सुरक्षा र संरचनागत सुधारको नयाँ चरणमा प्रवेश गरेको स्थानीय प्रेम पौडेलले बताउनुभयो । सडक निर्माण सम्पन्न भएपछि आगामी दिनमा यात्रालाई अझ सहज, सुरक्षित र आकर्षक बनाउने अपेक्षा गरिएको पौडेलको भनाइ छ ।
– ज्ञानु पङ्गेनी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































