04/26/2026, 13:15:51
आइतबार, बैशाख १३, २०८३

बेनीको रिङरोडमा पदमार्ग र रेलिङ निर्माण


म्याग्दी, वैशाख १३ गते । बेनीको कालीगण्डकी नदी किनारमा रहेको रिङरोडमा पदमार्ग निर्माण र रेलिङ राखेर सुरक्षित बनाइएको छ ।

बेनी नगरपालिका वडा नम्बर ८ ले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट कलिपुलको मोटरेबल पुलदेखि वडा नम्बर ७ को सिमाना सम्मको रिङरोडको डिलतर्फ पदमार्ग निर्माण र रेलिङ राखेर सुरक्षित बनाइएको हो । पदमार्ग बनेपछि सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज भएको छ । सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज होस् भनेर रिङरोड सडकको डिलतर्फ फलामको रेलिङ राखेर सुरक्षित पार्नुका साथै खाली भागमा पदमार्ग निर्माण गरिएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गत वर्ष नदी किनारमा निर्माण भएको सडकको डिलतर्फ रहेको खाली भागलाई सदुपयोग गरेर पदमार्ग बनाउनुका साथै रेलिङ पनि राखेका छौं । पैदलयात्रीहरु सडकमै हिँड्दा दुर्घटनाको जोखिम बढेको थियो । पदमार्ग निर्माण भएपछि सर्वसाधारणहरुलाई आवतजावत गर्न पनि सहज भएको छ ।’’ पदमार्गमा रुख विरुवा रोप्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

blog

रिङरोडमा पदमार्ग बनाउन र रेलिङ राख्न बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा ११ लाख रुपियाँ बिनियोजन गरेको यस योजना मार्फत रेलिङ, पदमार्ग निर्माणका साथै रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको उहाँले बताउनुभयो । गत भदौ महिनामा रिङरोडबाट मोटरसाइकलसहित कालीगण्डकीमा खसेर जिल्लाका दुई युवाको ज्यान गएको थियो । दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न वडाले यो योजना अघि बढाएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो ।

गर्मीयाममा शितलताका साथै अन्यसमय हिडडुल गर्नेहरुको चहलपहलका साथै रिङरोडमा सवारी साधनको चाप बढ्ने गर्दछ । रिङरोडले बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा समेटिएको छ । बेनी नगरपालिकाको सिफारिसमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले गत असारमा चार करोड ५० लाख रुपियाँ लागतमा कालीगण्डकी र म्याग्दीको किनारै किनार नौ सय मिटर सडक ढलान गरी रिङरोड निर्माण गरेको थियो ।

– ठाकुरप्रसाद आचार्य