

रामेछाप, वैशाख १२ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामेछापमा संगठन विस्तारलाई तीव्रता दिएको छ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा नेकपा एमाले, नेपाली कांग्रेस र अन्य दलका उम्मेदवारलाई पछि पार्दै गर्दै रास्वपाका डा. कृष्णहरि बुढाथोकी संसद्मा निर्वाचित भएका थिए। उनी हाल संघीय संसद्को अर्थ समितिको सभापतिसमेत छन्।
२ नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको जिल्लामा रास्वपाले वडा तहदेखि संगठन विस्तार अभियान अघि बढाएको छ। पार्टीले हाल धमाधम वडा अधिवेशन गर्दै स्थानीय संरचना सुदृढ पारिरहेको जनाएको छ।
रास्वपा रामेछाप उपसभापति मोहन कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचनसम्म जिल्लाका २५ वडामा मात्र अधिवेशन भएको थियो। ‘केन्द्रले जेठ १० गतेभित्र सबै वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘सोही अनुसार अहिले २८ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइसकेको छ।‘
उनका अनुसार गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने पालिका अधिवेशन पनि सकिएको छ। लिखुतामाकोशी गाउँपालिकामा वडा अधिवेशन सकिएर पालिका अधिवेशनको तयारी भइरहेको छ। अन्य पालिकामा भने धमाधम वडा अधिवेशन भइरहेका छन्।
जेठ अन्तिमसम्म सबै वडा र पालिका अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित पार्टीले सक्रियता बढाएको कार्कीले बताए। रास्वपा रामेछापका अनुसार हाल जिल्लामा करिब ७ हजार सदस्य रहेका छन्। वडा अधिवेशनमा सांसद बुढाथोकी, जिल्ला सभापति रमेश रायमाझीसहितका जिल्ला पदाधिकारी सहभागी भइरहेका छन्।
संगठन विस्तारलाई तीव्रता दिँदै आगामी दिनमा स्थानीय तहसम्म आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्यअनुरूप पार्टीले काम गरिरहेको उपसभापति कार्कीले बताए ।
– नवराज श्रेष्ठ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































