04/25/2026, 14:07:37
शनिबार, बैशाख १२, २०८३

मुग्लिङ–मलेखु सडक : साढे तीन वर्षमा त्रिचासिल प्रतिशत काम


चितवन, वैशाख १२ गते । काठमाडौँ जाने मुख्य राजमार्ग मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम साढे तीन वर्षअगाडिबाट सुरु भए पनि यसको ४३ प्रतिशत मात्र काम भएको छ । यससँगै मलेखुदेखि नागढुङ्गासम्मको सडक विस्तारको पनि ठेक्का लागेको थियो । मलेखुपूर्वको सडक विस्तारले गति लिँदा मुग्लिङ–मलेखु सडक पश्चिम खण्डको विस्तार कार्य भने सुस्त गतिमा अगाडि बढेको छ ।

सडक विस्तारका क्रममा धेरै समस्या आएकाले सोचे जस्तो प्रगति हासिल गर्न नसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारी बताउनुहुन्छ । “सबैभन्दा धेरै समस्या विस्तारका लागि चाहिने निर्माण सामग्री हो । यही सामग्री सहज प्राप्त गर्न सकेका छैनाँै,” प्रमुख अधिकारीले भन्नुभयो, “सुरुवातमा डिजाइनमा समस्या आयो । त्यसपछि दायाँबायाँ भएका घर हटाउने समस्या, बिजुलीका पोल हटाउनुपर्ने समस्या आयो । अहिले निर्माण सामग्री नपाउने समस्या आएको छ ।” मलेखु क्षेत्रबाट खोलाजन्य सामग्री उठाउन नदिने समस्या छ । “दर्जनौँ पटक वार्ता गर्दासमेत समाधान हुन सकेको छैन । यस्तो अवस्थामा कार्यालयले कसरी निर्माण कम्पनीलाई दबाब दिएर काममा लगाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

प्रतिनिधि सभा निर्वाचनका कारणले करिब एक महिना सडक विस्तारको काम रोकिएको थियो । मजदुर फर्किएर काममा आएपछि निर्माण सामग्रीको अभाव मूल्यवृद्धि, पहाड काट्ने कार्य, मुख्य चोक तथा बजारी क्षेत्रमा निर्माण गर्ने तयारीमा रहेको आकासे पुल निर्माण गर्न नदिने जस्ता कार्यले विस्तारको कामलाई प्रभावित पार्दै आएको अधिकारीको भनाइ छ ।

blog

मलेखुनजिकै त्रिशूली नदीको लामाबगर क्षेत्रमा आवश्यक निर्माण सामग्री निकाल्न ठेक्का लागे पनि स्थानीयको विरोधका कारण सामग्री निकाल्न नसकिएको आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले बताउनुभयो । “वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) ले तोकेको क्षेत्रबाट निर्माण सामग्री निकाल्न अनुमति दिए पनि स्थानीय सरकार, स्थानीयले अवरोध गरेपछि समस्या भौग्दै आएका छौँ,” उहाँले भन्नुभयो ।

आयोजना सुरु भएदेखि नै लामाबगरबाट गिट्टी, बालुवा लगायतका सामग्री निकाल्न पाएका छैनौँ । पटक पटक स्थानीयसँग वार्ता भए पनि समाधान हुन सकेको छैन । अहिले आएर मूल्यवृद्धि भएपछि अर्को समस्या थपिएको छ,  उहाँले बताउनुभयो ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी खोलाबाट निर्माण सामग्री निकाल्न स्थानीयले गरेको अवरोध हटाउने प्रयास भइरहेको बताउनुहुन्छ ।

स्थानीय तह र जनप्रतिनिधिबाट विवाद समाधानका लागि अपेक्षित पहल नभएको सडक विस्तार आयोजना कार्यालयको भनाइ छ । मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर सडक खण्डमा हाल ढल निर्माण तथा सडक पेटी निर्माणको काम सुस्त गतिमा भइरहेको छ ।

आयोजनाका अनुसार हालसम्म ४३ प्रतिशत काम सम्पन्न भएको छ । सडक विस्तारका लागि शर्मा–जेडआइसिजी जेभीसँग २०७९ मङ्सिर ७ गते ठेक्का सम्झौता भएको थियो ।