ताप्लेजुङ, वैशाख १० गते । जिल्ला सदरमुकाम फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात सञ्चालनमा रोक लगाएको छ ।
ट्याक्टर लगायतका यातायातका साधन सञ्चालन भइरहँदा काम गर्ने वातावरण नभएको र काममा ढिलाइ भएको निर्माण कम्पनीले गुनासो गरेपछि गाउँपालिकाले वैसाख ११ देखि २५ सम्म पुल निर्माण भइरहेको मार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूले पुल जडान हुनासाथ साना सवारी (ट्याक्सी, जिप) सञ्चालन गर्न सकिने बताए । तर निर्माण कम्पनीले ट्याक्टर चलिरहँदा नियमित काम गर्न नपाएको गुनासो गरेपछि पुललाई पहिलो प्राथामिकतामा राख्न १५ दिनका लागि रोक लगाइएको उनले बताए । अहिले यो सडकमा ट्याक्टर मात्र चलिरहे पनि अवरोध सृजना भएपछि रोक लगाइएको अध्यक्ष लिम्बूले बताए ।


फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार ओलाङचुङगोलादेखि सुकेपानीसम्म तीन ठाउँमा तमोर नदी तर्नु पर्छ । ‘दोबाटो भन्ने स्थानमा ह्युमपाइप राखिएको छ । जोङगिन भन्ने स्थानमा फराकिलो ठाउँ भएकाले खोलो फारेर यातायात सञ्चालन गर्ने बनाउन सकिन्छ,’ छेतेनले भने, ‘सुकेपानीमा साँघुरो ठाउँ र पानीको बहाव धेरै भएकाले पुल नै बनाउनु पर्ने बाध्यता छ ।’ यहाँ बेलिब्रिज बनेपछि टिपताला भञ्ज्याङसम्म ट्याक्सी समेत पुग्न सक्ने छेतेनले बताए ।
ओलाङचुङगोलादेखि टिपताला भञ्ज्याङसम्मको सडकमा ठाउँठाउँमा मर्मत गर्नुपर्ने स्थानीय बताउँछन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंले कोशी भ्रमण वर्षको अवसरमा टिपताला भ्रमण कार्यक्रम राखे पनि यही पुलका कारण भ्रमण तालिका धकेल्दै आएको छ ।
सुकेपानीबाट हिँडेर तीन दिनमा मात्रै टिपताला पुगिन्छ भने गाडीबाट ५/६ घण्टामा पुगिन्छ । ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने तमोर नदी माथिको बेलिब्रिजलाई गतवर्ष नै यहाँ लगिए पनि जडानमा ढिलाई भइरहेको गुनासो स्थानीयको छ ।
– आनन्द गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































