07/31/2026, 09:22:27
शुक्रबार, साउन १५, २०८३

मौसम र यात्रु अभावका कारण सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प


फुङलिङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा प्रतिकूल मौसम र यात्रु अभावका कारण गत जेठ २२ गतेदेखि नियमित हवाई सेवा पूर्ण रूपमा ठप्प भएको छ।

नेपाल वायु सेवा निगमले सातामा तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान तालिका तोके पनि दुवैतर्फ आवश्यक न्यूनतम ५-५ जना यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ।

इन्धनको मूल्यवृद्धिसँगै काठमाडौँ-सुकेटारको हवाई भाडा रु. ११,८०५ र सुकेटार-काठमाडौँको रु. ११,६०५ पुगेपछि यात्रुको आकर्षण घटेको सुकेटार स्टेसनले जनाएको छ। ५५ मिनेटको यो उडान सेवा अनिश्चित बन्दा सर्वसाधारण तथा पर्यटक प्रभावित भएका छन्।