मुक्तिनाथ (मुस्ताङ), चैत २२ गते ।मुस्ताङमा हिमपात र वर्षा भए पनि आइतबार पोखरा–जोमसोम हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । उपल्लो मुस्ताङमा प्रतिकूल मौसमका कारण हिमपात र तल्लो क्षेत्रमा वर्षा भए पनि हवाइ उडानको तालिकामा कुनै असर नगरेको जोमसोम विमानस्थलका निमित्त प्रमुख कुञ्जु ढकालले बताउनुभयो ।
निमित्त विमानस्थल प्रमुख ढकालले भन्नुभयो,‘‘ आवश्यक भिजिबिलिटी भएकाले उडानको तालिका हेरफेर भएको छैन, नियमित पोखराबाट जानकारी लिइरहेका छौ ।’’ भिजिबिलिटी ह्वात्तै घटेमा मात्रै उडान स्थगित हुने ढकालको भनाइ छ । आइतबार निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सको एक–एक उडान भएको छ ।
आइतबार समिटको ४ र ताराको ५ उडान भर्ने तालिका रहेको जोमसोम विमानस्थलले जनाएको छ । हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएको हवाइ सेवा गएको फागुन महिनको अन्तिम सातादेखि नियमित भइरहेको छ ।
अचानक मौसममा खरावी नआएसम्म नियमित तालिका रहेको निजी वायुसेवा कम्पनीले जनाएका छन् । पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकमा नेपालीसँगै भारतीय र तेस्रो मुलुकका हुने गरेका छन् । हवाई मार्ग अवरुद्ध हुदाँ पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुदै मुस्ताङ जाने गरेका छन् । मुस्ताङमा निजी वायुसेवा कम्पनी यति एयरलाईन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सले उडान भर्दै आइरहेको छ ।
पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म बढीमा पाँच–पाँच वटा मात्रै उडान हुने गरेको छ । दिउँसो १२ बजेपछि अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुल जस्ता कारण विमानस्थलमा हेलिकोप्टरले बाहेक यात्रुबाहक हवाइ उडान हुँदैन ।
नीजि कम्पनी बाहेक नेपाली सेनाले आफ्नो सामान ढुवानी सहित चार्टर उडान समेत गर्ने गरेको छ। मुस्ताङका धार्मिकस्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा हेलिकोप्टरको प्रयोग हुने गरेको छ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि वार्षिक संख्यामा हवाई यात्रुको संख्या घटेपनि अनुकुल मौसममा चाप हुने गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
