04/07/2026, 19:57:33
मङ्गलबार, चैत २४, २०८२

यात्रु लुट्न खोज्ने चार जना हतियारसहित पक्राउ


जमुनाहा (बाँके), चैत २० गते । नेपालगञ्ज बसपार्कमा यात्रुहरूलाई लुटपाट गर्ने प्रयास गरेको आरोपमा चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत मङ्गलबार काठमाडौँ जान तयारी अवस्थामा बसमा बसेका यात्रुहरूलाई ६–७ जनाको समूहले धाक-धम्की, डर-त्रास र हातपात गर्दै लुटपाट गरेको थियो। प्रहरीका अनुसार उक्त समूहले यात्रुहरूको साथबाट ५९ हजार रुपियाँ नगद, मोबाइल फोन तथा केही जिन्सी सामान जबरजस्ती लुटेको जानकारी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न चार जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट कटुवा पेस्तोल र खुकुरीसमेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा नेपालगञ्जका रामु परियार, सुवास बिष्ट, सञ्जय क्षेत्री तथा कोहलपुरका सन्दीपजंग क्षेत्री रहेका छन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो।

– लक्ष्मी तिमिल्सेना