04/06/2026, 07:10:10
सोमबार, चैत २३, २०८२

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत


बेइजिङ, माघ २८ गते ।चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्रा हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो ।

सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार किलोमिटर टाढा निर्माण क्षेत्रमा काम गर्नु हुन्छ । उहाँ घर फर्किन ३० घण्टाभन्दा लामो रेल यात्रा गर्न तयारीमा हुनुहुन्छ । उच्च गतिको रेलले नौ घण्टामै पुगिए पनि खर्च दोब्बरभन्दा बढी लाग्ने भएकाले उहाँले सस्तो ढिलो रेल रोज्नु भएको हो ।

अर्थतन्त्र कमजोर हुँदा कमाइ कठिन भएको उहाँको भनाइ छ । चीनमा ‘चुन्युन’ नामले चिनिने यो यात्रा अवधिमा करोडौँ कामदार आफ्ना परिवारसँग चाड मनाउन गृहनगर फर्किन्छन् । सरकारी तथ्याङ्क अनुसार करिब ५४ करोड रेलमार्फत् र ९५ करोड हवाई यात्रा हुने अपेक्षा गरिएको छ । बाँकी यात्रा सडकमार्फत् गरिने छन् ।

लामो कार्यसमय र सीमित वार्षिक बिदाकाबिच चन्द्र नयाँ वर्ष धेरैका लागि अमूल्य अवसर हो । बेइजिङका रेल स्टेसनमा यात्रु ठूला झोला र सुटकेससहित रेलको प्रतीक्षामा देखिएका छन् । कतिपय यात्रुले स्टेशनमा उपलब्ध निःशुल्क तातो पानी प्रयोग गरेर ‘इन्स्ट्यान्ट नूडल्स’ खाएर समय बिताइ रहेका छन् ।

बेइजिङमा हालै पूर्णकालिक काम सुरु गर्नु भएकी टियान डुओफूले फेब्रुअरी १५ देखि सुरु हुने नौ दिने बिदाको प्रतीक्षा गरिरहनुभएको बताउनु भयो । काम सुरु गरेपछि लामो बिदा दुर्लभ भएको र परिवारसँग भेटघाट कम हुँदै गएको महसुस भएको उहाँले उल्लेख गर्नु भयो । उहाँका अनुसार वसन्त महोत्सव परिवारसँग पुनर्मिलनको महत्त्वपूर्ण समय हो ।

हेनान प्रान्त घर भई बेइजिङमा बिहानको खाजा स्टल सञ्चालन गर्दै आउनु भएकी टियान युन्सियाले पनि नयाँ वर्ष परिवारसँगै मनाउन घर जान चाहेको बताउनु भएको छ । उहाँका अनुसार घर फर्कन नसके चाडपर्वको वास्तविक अनुभूति गर्न नसकिने हुन्छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..