10/08/2026, 10:52:01
बिहिबार, असोज २२, २०८३


काठमाडौँ, असोज २२ गते । भारतीय चलचित्रका चर्चित अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उहाँको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो। अस्पताल स्रोतका अनुसार पाटेकरलाई गम्भीर हृदयाघात भएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि सफल हुन सकेन। उहाँलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो। पाटेकर घरमै अचेत अवस्थामा भेटिनुभएको थियो। उहाँको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्र शोकमा डुबेको छ। कलाकार, राजनीतिज्ञ तथा उहाँसँग लामो समय काम गरेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

अभिनेता अक्षय कुमारले पाटेकरको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई असाधारण कलाकारका रूपमा सम्झनुभएको छ। ‘वेलकम’ र पछिल्लो समय ‘हाउसफुल–५’ मा पाटेकरसँग काम गरेको स्मरण गर्दै कुमारले उहाँको आवाज, अभिनयको तीव्रता र हरेक भूमिकाप्रतिको इमानदारीलाई कहिल्यै बिर्सन नसकिने बताउनुभएको छ। केन्द्रीय मन्त्री नितिन गडकरीले पनि पाटेकरको निधन भारतीय चलचित्र क्षेत्रका लागि ठूलो क्षति भएको बताउनुभएको छ। गडकरीका अनुसार पाटेकरले पाँच दशकभन्दा बढी समयसम्म मराठी र हिन्दी चलचित्रमार्फत दर्शकको मन जित्नुभएको थियो। उहाँको विशिष्ट संवाद शैलीले धेरै पात्रलाई अविस्मरणीय बनाएको गडकरीको भनाइ छ। गडकरीले पाटेकरको सामाजिक सेवाको पनि स्मरण गर्नुभएको छ। ‘नाम फाउन्डेसन’ मार्फत महाराष्ट्रका ग्रामीण क्षेत्रमा जल संरक्षण तथा जलग्रहण क्षेत्र व्यवस्थापनमा उहाँले काम गर्नुभएको थियो। किसान आत्महत्याबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने कार्यमा पनि पाटेकर सक्रिय रहनुभएको थियो।

पाँच दशकभन्दा लामो अभिनय यात्रा

सन् १९७८ मा ‘गमन’ बाट हिन्दी चलचित्रमा प्रवेश गर्नुभएका पाटेकरले आफ्नो विशिष्ट आवाज, दमदार संवाद प्रस्तुति र गहिरो अभिनयका कारण भारतीय चलचित्रमा छुट्टै पहिचान बनाउनुभएको थियो। उहाँले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘नटसम्राट’, ‘राजनीति’, ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ तीन पटक राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मानित कलाकारसमेत हुनुहुन्थ्यो।  ‘वेलकम’ मा उदय शेट्टीको भूमिकाले उहाँलाई नयाँ पुस्तामाझ समेत लोकप्रिय बनाएको थियो। ‘वेलकम ब्याक’ र ‘हाउसफुल–५’ जस्ता व्यावसायिक चलचित्रमा पनि उहाँले उल्लेखनीय अभिनय गर्नुभयो।पछिल्लो समय पाटेकर चलचित्रसँगै ओटीटीमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँको निधनसँगै भारतीय चलचित्रले दमदार अभिनय, विशिष्ट संवाद शैली र सामाजिक संवेदनशीलताका लागि परिचित एक बहुआयामिक कलाकार गुमाएको छ। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि पाटेकरलाई उत्कृष्ट अभिनेता मात्र नभई असल मानव तथा सामाजिक अभियन्ताका रूपमा स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।

नाना पाटेकरप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️