काठमाडौँ, पुस २१ : भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् ।
ग्रीनल्यान्डमा अमेरिकी दाबी
फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए । ‘ग्रीनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रीनल्यान्ड आवश्यक छ, जुन डेनमार्क एक्लैले धान्न सक्दैन ।‘
यसअघि ‘भेनेजुएलाको सैन्य कारबाहीले ग्रीनल्यान्डका लागि के संकेत गर्छ ?‘ भन्ने ‘द एटलान्टिक’को प्रश्नमा ट्रम्पले घुमाउरो जवाफ दिँदै भनेका थिए, ‘त्यो त उनीहरूले आफैं बुझ्नुपर्ने कुरा हो ।‘
ट्रम्पको अभिव्यक्तिप्रति डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आपत्ति जनाएकी छन् । उनले ग्रीनल्यान्ड ‘बिक्रीमा नरहेको‘ स्पष्ट पार्दै ट्रम्पलाई एउटा सार्वभौम मुलुक र ऐतिहासिक मित्र राष्ट्रलाई धम्क्याउन बन्द गर्न आग्रह गरेकी छन् ।
डेनमार्कका अधिकारीहरू ट्रम्प प्रशासनका पूर्वअधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा नक्सालाई लिएर समेत रुष्ट छन्, जसमा ग्रीनल्यान्डलाई अमेरिकी झण्डाको रङ्गमा देखाउँदै ‘soon’ (छिट्टै) लेखिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसिएट प्रेसका अनुसार ट्रम्पले आफ्नो ‘राष्ट्रिय सुरक्षा रणनीति‘ मा पश्चिमी गोलार्द्धमा अमेरिकी वर्चस्व पुन:स्थापित गर्ने लक्ष्य राखेका छन् ।

क्युबा र कोलम्बियालाई चेतावनी
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोका निकट सहयोगी मानिने क्युबप्रति पनि ट्रम्प प्रशासन निकै आक्रामक देखिएको छ । विदेशमन्त्री मार्को रुबियोले मदुरोको सुरक्षामा क्युबाली अंगरक्षकहरू खटिएको र उनीहरूले नै भेनेजुएलाको आन्तरिक जासुसी संयन्त्र चलाएको आरोप लगाएका छन् । आइतबार क्युबा सरकारले अमेरिकी सैन्य कारबाहीमा आफ्ना ३२ अधिकारी मारिएको पुष्टि गरेको छ ।
त्यस्तै, ट्रम्पले कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई समेत निसानामा पारेका छन् । कोलम्बियालाई ‘विश्वको कोकिन कारखाना‘ को संज्ञा दिँदै ट्रम्पले भने, ‘उनले (पेट्रो) लामो समय यो काम गर्न पाउने छैनन् ।‘ कोलम्बियामाथि सैन्य कारबाही हुने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘त्यो उचित सुनिन्छ ।‘
ट्रम्प प्रशासनले यसअघि नै लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा पेट्रो र उनको परिवारमाथि प्रतिबन्ध लगाउनुका साथै कोलम्बियालाई दिइँदै आएको सहायतामा कटौती गरिसकेको छ । ट्रम्पको पछिल्लो अभिव्यक्तिले पश्चिमी गोलार्द्धमा अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न थप आक्रामक सैन्य र राजनीतिक कदम चाल्न सक्ने देखिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
