

गोरखा, भदौ २३ गते । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर र जोगिमारा क्षेत्रमा बर्सेनि जाने पहिरोका कारण सडक अवरुद्ध हुने जोखिम बढेपछि त्यसको विकल्पका रूपमा त्रिशुली नदीपारि गोरखातर्फको १९ किलोमिटर सडक स्तरोन्नतिको काम सुरु गरिएको छ।
गण्डकी गाउँपालिका–६ पल्लोटारदेखि वडा नम्बर ८ सिउरेनीटारसम्म जोड्ने उक्त सडकलाई हप्ता-दश दिनभित्र गाडी चलाउन मिल्ने गरी चारवटा मेसिन परिचालन गरेर निर्माण कार्य अघि बढाइएको छ।
पृथ्वी राजमार्गमा पहिरो जाँदा यात्रु तथा मालवाहक सवारीले खेप्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै पल्लोटार–कौदी–सिउरेनीटार सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सनाले जानकारी दिनुभयो। उहाँका अनुसार गढाई, पल्लोटार, कौदी हुँदै बेनीघाट निस्कने यो सडक राजमार्गको पहिरोग्रस्त खण्ड छल्न सबैभन्दा उपयुक्त विकल्प मानिएको छ।
सडकको ज्यामिरे घाटदेखि सिउरेनीटारसम्मको १० किलोमिटर खण्ड कालोपत्रका लागि केन्द्र र प्रदेश सरकारको समपूरक बजेटबाट ठेक्का लागिसकेको भए पनि निर्माण कम्पनीको ढिलाइले अपेक्षाअनुसार काम हुन सकेको छैन। गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनका अनुसार हाल तत्काल ट्रयाक खोल्ने र सडक स्तरोन्नतिको काम भइरहेको छ भने दीर्घकालीन रूपमा यसलाई कालोपत्रे गरी स्थायी वैकल्पिक राजमार्ग बनाउने योजना छ।
ट्रयाक खोल्नुपर्ने करिब १.४ किलोमिटर क्षेत्रमा कडा चट्टान रहेकाले केही चुनौती देखिए पनि कामलाई तीव्रता दिइएको छ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुने समयमा सवारी साधनलाई ठूलो राहत पुग्ने र समय तथा इन्धनको बचत हुने अपेक्षा गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































