09/08/2026, 16:14:25
मङ्गलबार, भदौ २३, २०८३

काठमाडौँ महानगरको टोली टोल-टोलमै महिलाका लागि निःशुल्क क्यान्सर र स्त्रीरोग स्वास्थ्य शिविर हुँदै


काठमाडौँ, भदौ २३ गते । काठमाडौँ महानगरपालिकाले महिलाहरूमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अन्य स्त्रीरोगको निःशुल्क स्वास्थ्य परीक्षण गराउने भएको छ।

वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने अभियान अन्तर्गत कामपा-२७ ले आउँदो असोज १७ गते शनिबार यस निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो। यसका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग औपचारिक सम्झौतासमेत गरिसकेको छ।

File Photo
File Photo

लक्षण देखिनुअघि नै रोगको सम्भावना पहिचान गरी रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। सहरवासीमा रोग लाग्नुपूर्व जाँच गराउने बानी कम रहेकाले घरदैलोमै पुगेर सेवा दिन लागिएको बताउँदै वडाध्यक्ष योगेश खड्गीले यसबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। महानगरले यस अभियानलाई क्रमशः आफ्ना सबै वडामा विस्तार गर्ने लक्ष्य राखेको छ।

परीक्षणका क्रममा जटिल समस्या देखिएका बिरामीहरूलाई अस्पतालले उपचारमा आवश्यक सहजीकरण गर्ने भएको छ। निजामती अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारका अनुसार प्रारम्भिक जाँचमा थप परीक्षण आवश्यक देखिएमा वडाको सिफारिसमा अस्पतालमै अल्ट्रासाउण्ड र मेमोग्रामलगायतका परीक्षण गराइने छ।

सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कामपाले यसअघि पनि एक महिने क्यान्सर परीक्षण शिविर सञ्चालन गरिसकेको छ।