09/07/2026, 18:02:09
सोमबार, भदौ २२, २०८३

प्रकाश सपुत र बिन्दु बोहरा पहिलोपटक म्युजिक भिडियोमा, निरुता सिंहको पनि धमाकेदार प्रस्तुति


काठमाडौँ, भदौ २२ गते । गायक तथा संगीतकार प्रकाश सपुत र उनकी धर्मपत्नी बिन्दु बोहरा पहिलोपटक एकसाथ म्युजिक भिडियोमा देखिएका छन्।

नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ को भिडियोमा अभिनय गर्दै उनीहरूले डेब्यु गरेका हुन्। भिडियोमा यी जोडीको सुन्दर केमेस्ट्रीका साथै वरिष्ठ अभिनेत्री निरुता सिंहको समेत आकर्षक अभिनय र नृत्य हेर्न पाइन्छ।

गायक प्रकाश सपुत र नीशा सुनारको स्वर रहेको यस गीतमा शब्द र संगीत स्वयम् प्रकाशकै रहेको छ। सुनिल बिकको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन तथा प्रविण भट्टको सम्पादनमा तयार भएको यस भिडियोलाई निकै आकर्षक र मनोरञ्जक बनाइएको छ।

देशमा आएको बाढीपहिरोका कारण पूर्वनिर्धारित मिति गत भदौ १० गते सार्वजनिक हुन नसकेको यो गीत केही समयको ढिलाइपछि बजारमा ल्याइएको हो। ढिला गरी आए पनि दर्शक र श्रोताले यस गीतलाई निकै रुचाउने र तीजको माहौल तताउने अपेक्षा गरिएको छ।