09/02/2026, 16:23:59
बुधबार, भदौ १७, २०८३

विपत्तिको समयमा आरोप–प्रत्यारोप छाडेर मान्छे बचाउन लागौँ : ज्ञानेन्द्रबहादुर शाही


काठमाडौँ, भदौ १७ गते । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर शाहीले विपद्को समयमा आरोप–प्रत्यारोप र राजनीतिकरण नगरी सम्पूर्ण ध्यान उद्धार तथा राहतमा केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

बैठकमा बोल्दै सांसद शाहीले राज्यका सम्पूर्ण स्रोत–साधन र आवश्यक उपकरणहरू तत्काल परिचालन गर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभयो। विपद् व्यवस्थापनमा स्थानीय तहलाई थप प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारलाई सहयोग गर्न आफूहरू जुनसुकै स्थानमा खटिन तयार रहेको स्पष्ट पार्नुभयो।

विपत्को समयमा आफ्नो ज्यानको पर्वाह नगरी उद्धार कार्यमा खटिने सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै उहाँले उनीहरूको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने सुझावसमेत दिनुभयो।

यस्तै, नेपालले जलवायु परिवर्तनका कारण ठुलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै शाहीले विकसित तथा सम्पन्न राष्ट्रहरूले आफ्नो सुखसुविधाका लागि गरिरहेको अत्यधिक कार्बन उत्सर्जनविरुद्ध नेपालजस्ता मुलुकहरू एकजुट भई यस विषयलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।

विपत्तिको कठिन घडीमा कसैलाई दोष दिने समय नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मानिसको श्वास रहेसम्म उद्धारको काम रोक्नु हुँदैन, कुनै दल चाहिँदैन, मान्छे बचाइदिनुहोस्।