

काठमाडौँ, भदौ १७ गते । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुर्याएको ठुलो जनधनको क्षतिले सबैलाई स्तब्ध बनाएको बताउनुभएको छ।
प्रतिनिधिसभा बैठकमा आज दलको तर्फबाट सम्बोधन गर्दै उहाँले यो बाढी एक किसिमको प्रलयकारी सुनामी जस्तै भएको र क्षणभरमै यति धेरै क्षति नेपालले यसअघि व्यहोर्नु नपरेको उल्लेख गर्नुभयो।
सम्बोधनका क्रममा उहाँले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै बेपत्ता नागरिकको प्रभावकारी खोजी र उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। विपद पूर्वसूचना बिना आउने भएकाले पूर्वतयारीमा लाग्न काङ्ग्रेसले सदनमा पहिलेदेखि नै ध्यानाकर्षण गराउँदै आएको उहाँले स्मरण गराउनुभयो।
विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिँदै नेता आङदेम्बेले नेपाली काङ्ग्रेस पूर्ण रूपमा सरकारको साथमा रहेको घोषणा गर्नुभयो। उहाँले काङ्ग्रेसले तत्काल बैठक बसेर सिङ्गो पार्टी पङ्क्तिलाई उद्धार तथा राहतमा परिचालन गर्ने र सरकारका सत्प्रयासहरूमा सहयोग पुर्याउने निर्णय गरिसकेको जानकारी दिँदै उद्धार, राहत र पुनस्र्थापनामा जुट्नु सबैको साझा कर्तव्य रहेको बताउनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































